काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताएका छन् ।
हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका निर्णय तथा सन्देशबारे मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको नीति र अनुशासनविपरीत जानेमाथि कडा कारबाही हुने बताएका हुन् ।
ओलीले पार्टीमा अराजकता फैलाउने, अनुशासन उल्लङ्घन गर्ने तथा विपक्षीलाई फाइदा पुग्ने गरी बोल्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिए । एमालेको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठक असोज ५ देखि ८ गतेसम्म ललितपुरमा बसेको थियो ।
उनले लोकतन्त्रको रक्षा र आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई पार्टीको मुख्य लक्ष्यका रूपमा अघि बढाउन निर्देशन दिए । लक्ष्यमा केन्द्रित भएर ‘अर्जुनदृष्टि’का साथ काम गर्न उनले नेताहरूलाई आग्रह गरे ।
अध्यक्ष ओलीले तत्काल कुनै अन्य दलसँग पार्टी एकता नहुने स्पष्ट पारे । यद्यपि आवश्यकता र परिस्थितिअनुसार चुनावी तालमेल वा विषयगत कार्यगत एकता भने हुनसक्ने उनको भनाइ थियो ।
उनले राजधानी वा सुविधायुक्त ठाउँमा बसेर जिल्ला तथा कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न नसकिने बताए । नेताहरूलाई ‘टुरिस्ट’ नबनी आफ्नो जिम्मेवारी रहेको क्षेत्रमा पुगेर योजना बनाउन र काम गर्न ओलीले निर्देशन दिए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सञ्चालित भर्चुअल कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, रघुजी पन्त तथा महासचिव शङ्कर पोखरेललगायत नेताहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया