इसेवाको नयाँ सेवा : अब २ लाखसम्मको कर्जा लिएर विद्युतीय स्कुटर किन्न सकिने

लोकपथ
0
Shares

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक ‘बाइ नाउ, पे लेटर’ सेवा सुरु गरेको छ । यो सेवामार्फत ग्राहकले इसेवा एपबाटै विद्युतीय स्कुटर खरिदका लागि डिजिटल कर्जा लिन सक्नेछन् ।

यसका लागि असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा इसेवा, रिलायन्स फाइनान्स र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्टबीच त्रिपक्षीय साझेदारी भएको हो ।

साझेदारीपत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्टका मनन तुलाधरले हस्ताक्षर गरेका छन् ।

साझेदारीअनुसार ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिद गर्दा इसेवा प्लेटफर्ममार्फत ‘बाइ नाउ, पे लेटर’ सुविधा लिन सक्नेछन् । रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।

यस सेवाअन्तर्गत ग्राहकले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिनेदेखि आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन् । रिलायन्स फाइनान्सले ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ ।

ग्राहकले उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्तामा तिर्न सक्नेछन् । यसबाट स्कुटर खरिद गर्दा एकैपटक ठूलो रकम तिर्नुपर्ने बाध्यता कम हुने इसेवाले जनाएको छ ।

इसेवाले डिजिटल माध्यमबाट वित्तीय सेवा सहज बनाउने उद्देश्यले यो सेवा ल्याएको जनाएको छ । विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यो साझेदारीले विद्युतीय सवारीको प्रयोग र वातावरणमैत्री यातायातलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?