नेपाल वित्तीय संस्था संघमा नयाँ नेतृत्व : अध्यक्षमा रजोज मान श्रेष्ठ, कार्यसमितिमा को-को छन् ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन भएको छ । सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

गत असोज २ गते संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले विगतको गतिविधि र प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने निर्णय गरेको थियो ।

उपाध्यक्षमा उद्धवराज थपलिया चयन भएका छन् । उनी नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् ।

महासचिवमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रहेका अनिल श्रेष्ठ रहेका छन् । यसैगरी २ जना कार्यसमितिका सदस्य चयन भएका छन् । जसमा गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी रहेका छन् ।

संघले संघका निवर्तमान अध्यक्ष सुनिल पन्तले आफ्नो कार्यकालमा संघको नेतृत्व गर्दै संघलाई थप सुदृढ, प्रभावकारी र संस्थागत रूपमा अघि बढाउन पुर्‍याएको महत्वपूर्ण योगदानप्रति संघ आभार व्यक्त गरेको छ ।

‘पन्तज्यूले आगामी दिनमा संघको तत्कालीन निवर्तमान अध्यक्षका रूपमा निरन्तर संघसँग आबद्ध रही नयाँ कार्यसमितिलाई आवश्यक मार्गदर्शन प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ,’ संघले भनेको छ ।

नवनिर्वाचित कार्यसमितिले नेपालका वित्तीय संस्थाहरूबीचको समन्वय, सहकार्य र संस्थागत एकता थप सुदृढ गर्ने, सदस्य संस्थाहरूका साझा विषय तथा समस्याहरूलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने तथा वित्तीय क्षेत्रको समग्र विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकार तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरूसँग थप प्रभावकारी र रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?