काठमाडौं । मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको वित्तीय साक्षरता कोर्स २ हजार ५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरेका छन् ।
चालकलाई आफ्नो आम्दानी र खर्च व्यवस्थापन गर्न, बजेट बनाउन, बचत गर्ने बानी विकास गर्न तथा आर्थिक निर्णय लिन सहयोग गर्ने उद्देश्यले कम्पनीले ‘योर फाइनान्सेसः गाइड टु मनी कन्फिडेन्स’ कोर्स सञ्चालन गरेको हो ।
इनड्राइभ एपको ड्राइभर मोड र ड्राइभर एकेडेमीमार्फत उपलब्ध यो कोर्स चालकको दैनिक आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ ।
कोर्समा आम्दानी र खर्च व्यवस्थापन, बजेट निर्माण, आर्थिक लक्ष्य निर्धारण, बचत, आकस्मिक कोष र जिम्मेवार रूपमा ऋण लिने तरिकाबारे जानकारी दिइएको छ । साथै, इनड्राइभमार्फत थप आम्दानी गर्न सकिने उपाय पनि सिकाइन्छ ।
दैनिक आम्दानीमा उतारचढाव हुने चालकलाई आफ्नो कमाइअनुसार खर्चको योजना बनाउन र आर्थिक अवस्था व्यवस्थित गर्न सहयोग पुग्ने गरी कोर्स तयार गरिएको कम्पनीको भनाइ छ ।
कोर्समा सिकेका कुरा व्यवहारमा लागू गर्न सहज होस् भनेर व्यावहारिक अभ्यास र क्याल्कुलेटरसमेत उपलब्ध गराइएको छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले चालकको आम्दानी काम गर्ने समय र दैनिक परिस्थितिअनुसार फरक हुने भएकाले वित्तीय साक्षरता आवश्यक रहेको बताइन् ।
उनका अनुसार कोर्सले चालकलाई बजेट बनाउन, बचतको योजना तयार गर्न, ऋणसम्बन्धी निर्णय लिन र आम्दानी व्यवस्थापन गर्न सहयोग गर्नेछ ।
कोर्स पूरा गरेका एक चालकले यसबाट दैनिक खर्चको हिसाब राख्ने, बजेट बनाउने र नियमित बचत गर्ने बानी विकास गर्न सहयोग पुगेको बताएका छन् ।
कोर्समा चार मुख्य विषय समेटिएका छन् । पहिलोमा बजेट व्यवस्थापन, दोस्रोमा आर्थिक लक्ष्य हासिल गर्ने तरिका, तेस्रोमा सुरक्षित र जिम्मेवार रूपमा ऋण लिने उपाय तथा चौथोमा इनड्राइभमार्फत थप आम्दानी गर्ने अवसरबारे सिकाइन्छ ।
कम्पनीले यस पहलमार्फत चालकलाई राइड सेवासम्बन्धी सीपका अतिरिक्त दैनिक जीवनमा उपयोगी आर्थिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया