काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्कीले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले वैज्ञानिक र व्यवस्थित प्रणाली विकासमा जोड दिए ।
कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताए । साथै, फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकासँग सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
राजधानीको बढ्दो जनसङ्ख्या, सहरीकरण र सवारी चापसँगै फोहोरमैला व्यवस्थापन, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनमा पनि स्थानीय तह र नेपाल प्रहरीबीच सहकार्य हुनुपर्ने कार्कीले बताए ।
उनले ७५३ वटै स्थानीय तहलाई नेपाल प्रहरीसँग भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनका विषयमा समन्वय गर्न पत्राचार भइरहेको जानकारी दिए । स्थानीय तहले आवश्यकताअनुसार प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद् उद्धार सामग्री उपलब्ध गराउने तथा सीसीटीभी जडान र विस्तारमा सहकार्य गर्नुपर्ने उनले बताए ।
कार्कीले काठमाडौं महानगरपालिकाले सडक तथा फुटपाथ व्यवस्थापनमा गरिरहेको कामको प्रशंसा गर्दै नागरिकलाई सफा सडकमा हिँड्न पाउने र सार्वजनिक स्थान अवरोधरहित रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
महानगरपालिका र सुरक्षा निकायबीच थप योजना र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले आगामी दिनमा ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री तथा प्रभावकारी बनाउन सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया