काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन् : हरिवंश आचार्य

लोकपथ
0
Shares

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिकालाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा पछिल्लो समय केही राम्रा काम भएको बताएका छन् ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले महानगरमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले करिब ५० वर्षअघिदेखि काठमाडौं बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई व्यवस्थित बनाउने प्रयास भएको उल्लेख गरे । बाहिरबाट हेर्दा फल्चा बस्ने वा ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंको मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको उनको भनाइ थियो ।

काठमाडौंलाई देवताहरूको सहरका रूपमा चित्रण गर्दै आचार्यले महानगरवासीले आफ्नो सम्पदा र सहरको संरक्षणमा जिम्मेवार बन्नुपर्ने बताए ।

केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाइ र सौन्दर्यबारे तयार पारेको कार्यक्रम आफूले हेरेको उल्लेख गर्दै उनले नेपाली सञ्चारमाध्यमबाहिरबाट समेत काठमाडौंको प्रशंसा भएको देख्दा गर्व लागेको बताए ।

उनले महानगरमा भएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाइ र सौन्दर्यमा थप ध्यान दिनुपर्नेमा जोड दिए । महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?