काठमाडौं । उद्योग विभागले सिर्सिया खोलालाई प्रदूषित बनाउने उद्योगहरूलाई वातावरणीय मापदण्ड तथा स्वीकृत शर्तहरू पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।
सोमबार सिर्सिया खोला आसपासका उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा विभागका महानिर्देशक जितेन्द्र बस्नेतले उद्योगबाट निस्कने प्रदूषित पदार्थ सिधै खोलामा मिसाउने कार्य अब स्वीकार्य नहुने स्पष्ट पारे ।
विगत एक दशकदेखि समाधान हुन नसकेको सिर्सिया खोलाको प्रदूषण समस्या समाधान गर्न राज्य र उद्योगी दुवै पक्ष जिम्मेवार हुनुपर्ने बस्नेतले बताए । उनले विसं २०८० मा गरिएको अध्ययन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।
उक्त अध्ययन प्रतिवेदनले साना तथा ठूला उद्योगले एकल वा सामूहिक रूपमा फोहोर प्रशोधन केन्द्र (इटीपी) स्थापना गर्नुपर्ने सुझाव दिएको छ । बस्नेतले साना पुँजीका उद्योगले पनि आपसी समन्वयमा छिट्टै इटीपी निर्माण गरी प्रशोधनपछि मात्रै फोहोर विसर्जन गर्नुपर्ने बताए ।
उनले उद्योग दर्ताका क्रममा स्वीकार गरिएका सर्त तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेखित प्रावधान पालना गर्नु उद्योगीको अनिवार्य दायित्व भएको बताए । खोलामा प्रत्यक्ष रूपमा फोहोर फाल्ने कार्यलाई विभागले आगामी दिनमा कडाइका साथ नियन्त्रण गर्ने उनको भनाइ छ ।
विभागले वातावरणीय मापदण्ड कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । सरकारी पक्षबाट आवश्यक सहजीकरणमा कमी नहुने भन्दै महानिर्देशक बस्नेतले उद्योगीहरूलाई नियमनकारी निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया