भोटेकोशी बाढी : सोनी शर्माको नेतृत्वमा करिब १० लाख रुपैयाँ बराबरको राहत वितरण

लोकपथ
0
Shares

काठमाडौं । नुवाकोट र रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई लक्षित गरी सोनी शर्माको नेतृत्वमा करिब १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री संकलन गरी वितरण गरिएको छ ।

बाढी र पहिरोका कारण प्रभावित परिवारहरूलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत चामल, दाल, तेल, दैनिक उपभोग्य सामग्री तथा अन्य आवश्यक राहत सामग्री संकलन गरिएको थियो । संकलित सामग्री नुवाकोट र रसुवाका विभिन्न प्रभावित बस्ती तथा परिवारसम्म पुर्‍याइएको अभियानमा संलग्न पक्षले जनाएको छ ।

राहत कार्यक्रमको प्रत्यक्ष सञ्चालन तथा वितरणमा सोनी शर्मा सक्रिय रहेकी थिइन् ।

विभिन्न स्थानमा पुगेर पीडित परिवारको अवस्था बुझ्ने, राहत सामग्री व्यवस्थापन गर्ने तथा स्थानीय स्वयंसेवक र दिदीबहिनीहरूसँग समन्वय गरी सामग्री वितरण गर्ने काम उनको नेतृत्वमा गरिएको थियो ।

यस राहत अभियानको संकलन, समन्वय र सहजीकरणमा अमेरिकाबाट उनका श्रीमान् जनकराज ढुंगानाले सहयोग गरेका थिए ।

विदेशमा रहेर पनि राहतका लागि सहयोग जुटाउने, विभिन्न व्यक्ति तथा समुदायसँग समन्वय गर्ने र आवश्यक सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउन सहजीकरण गर्ने काममा उनी सक्रिय रहेको बताइएको छ।

अभियानमा स्थानीय महिला, स्वयंसेवक, सहयोगी तथा दाताहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो । विपद्को समयमा प्रभावित परिवारलाई तत्काल खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउनु अभियानको मुख्य उद्देश्य रहेको र त्यसले लक्षित वर्गलाई थप सहयोग पुगेको छ ।

‘विपत्तिमा परेको एउटा परिवारसम्म पनि सहयोग पुग्नु ठूलो कुरा हो । यो अभियान कुनै एक व्यक्तिको मात्र नभई सहयोग गर्ने सबै दाता, स्वयंसेवक र समुदायको साझा मानवीय प्रयास हो,’ अभियानसँग सम्बन्धित पक्षले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण दाता, स्वयंसेवक, स्थानीय समुदाय तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अभियानमा साथ दिने सबैप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?