काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाले बाढी प्रभावित नगरवासी नागरिकहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ ।
नगरपालिकाले आगामी कार्यपालिका बैठकबाट अनुमोदन हुने गरी बाढीबाट घरबार गुमाएका, मृतक र घाइते तथा प्रभावित परिवारका लागि लक्षित गर्दै राहत प्याकेजको घोषणा गरेको हो ।
जसअनुसार बाढी प्रभावित नागरिकका प्रतिपरिवार २५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराइने बताइएको छ ।
बाढीका कारण घर पूर्ण रुपमा क्षति भई बस्न योग्य नभएका, परिवारका सदस्य गुमाएका (मृत्यु भएका) तथा बेपत्ता परिवारलाई सो रकम उपलब्ध गराइनेछ ।
यस्ता परिवारलाई सम्बन्धित वडाका वडाध्यक्ष तथा वडा सचिवमार्फत् अनिवार्य रुपमा प्रमाणित गरी तथ्यांक उपलब्ध गराउन भनिएको छ ।
नगरपालिकाभित्र बाढीका कारण खेतियोग्य जग्गा जमिन बगेर वा पुरिएर समस्यामा परेका किसान परिवारलाई तत्काल राहतस्वरुप प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
यसैगरी बाढीबाट घर भत्किएका, पूर्ण रुपमा क्षति भएका तर नयाँ घर निर्माणका लागि अन्य कुनै ठाउँमा जग्गाजमिन नभएका अति विपन्न तथा विस्थापित पीडित परिवारहरुको पहिचान गरी पुनःस्थापना वा पुनर्वास प्रक्रिया अगाडि बढाउन नगरपालिका कार्यालयमार्फत सार्वजनिक सूचना समेत आह्वान गरिनेछ ।
गत भदौ १० को रसुवास्थित भोटेकोशी बाढीबाट बेलकोटगढी नगरपालिकाको वडा नं ८, वडा नं ७ र वडा नं ८ को तल्लो तटीय क्षेत्रमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया