त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये कबीर महर्जनको अवस्था जटिल

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्का व्यक्तिको अवस्था सामान्य रहेको छ ।

जटिल अवस्थामा रहेका कबीर महर्जनलाई उद्धारलगत्तै काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

यस्तै, सुरुङबाट सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको नेपाली सेनाले जनाएको छ । स्वास्थ्य अवस्था स्थिर रहे पनि थप स्वास्थ्य परीक्षणका लागि साहलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइँदै छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित संयुक्त टोलीले शुक्रबार बिहान सुरुङभित्र फसेका दुवै जनाको उद्धार गरेको हो ।

आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंकापछि बाढी आएको समयदेखि नै सुरक्षा निकायले लगातार खोज तथा उद्धार प्रयास गर्दै आएका थिए । लामो प्रयासपछि सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गर्न टोली सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?