काठमाडौं । रसुवा बाढी तथा पहिरोजन्य विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म बाढी तथा पहिरोमा परी १ हजार १ सय १४ जनाको मृत्यु भएको हो । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भएको छ । सनाखत भएका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी चितवनमा ३ सय ४८ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २ सय १७, नवलपरासी पश्चिममा १ सय ९०, नुवाकोटमा १ सय ५५, गोरखामा ६६, धादिङमा ५९, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
विपद्मा परी २ सय ९२ जना घाइते भएका छन् । तीमध्ये १ सय ८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ । घाइतेको उपचारका लागि नेपाली सेनाले २ हजार ९ सय १५ र सशस्त्र प्रहरी बलले १ हजार १ सय ५५ जनालाई स्वास्थ्य सेवा दिएको छ ।
बाढी तथा पहिरोका कारण करिब ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन् । बेपत्ता हुनेमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, पर्यटक, स्थानीय बासिन्दा तथा जलविद्युत् आयोजनामा कार्यरत श्रमिक रहेका छन् ।
प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यमा २१ हजार ३ सय १४ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये नेपाली सेनाका ९ हजार १ सय ९९, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन् ।
नेपाली सेनाले ६ सय २२ पटक हवाई उडान गरी ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरेको छ । यस्तै, ३ हजार ४ सय ५३ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ ।
सरकारले प्रभावित जिल्ला र स्थानीय तहका लागि राहत रकमसमेत निकासा गरेको छ । रसुवा र नुवाकोटलाई १र१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । प्रभावित १५ स्थानीय तहका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ ।
राहत सामग्रीतर्फ ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । दुर्गम क्षेत्रमा ७७ पटक हेलिकप्टर उडाएर राहत सामग्री ढुवानी गरिएको छ ।
प्रभावित क्षेत्रमा अत्यावश्यक इन्धनको मौज्दातसमेत सुरक्षित राखिएको छ । हाल ४९ हजार लिटर डिजेल, १९ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षतिग्रस्त १ सय १० वटै टावर सञ्चालनमा ल्याइएको छ । एनसेलका क्षतिग्रस्त ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन् । बाँकी टावरको मर्मत कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया