त्रिशूलीको किनारमा उभिएर मैले देखेको त्यो कहालीलाग्दो नुवाकोट

लोकपथ
56
Shares
लेखक : मार्मिक पौडेल

मार्मिक पौडेल

गत भाद्र गते भोटेकोशीमा आएको बाढीले मेरो आफ्नो गृहजिल्ला नुवाकोटसहित आसपासका क्षेत्रमा (रसुवा, धादिङ, चितवन) पुर्‍याएको क्षति शब्दमा वर्णन गर्न सकिने खालको छैन ।

इतिहासमा कहिल्यै नदेखिएको, सपनामा समेत नसोचेको त्यो विनाश कुनै प्राकृतिक विपत्ति मात्र नभई एक प्रकारको प्रलय नै थियो ।

त्यो दिनदेखि मनभित्र अनेक पीडा, बेचैनी र छटपटी छ, तर कामको व्यस्तताका कारण तत्कालै प्रभावित क्षेत्र पुग्न सकिएन । हिजो मात्र समय मिल्यो । मन भारी बनाएर हामी त्यसतर्फ लाग्यौँ । ढुङ्गेसम्म पुगियो । त्यहाँको दृश्यले वरिपरि कालो, रिंगटा लागेको जस्तो भएर थचक्क बसियो टाउको पुरै घुमायो ।

विदुरबाट सिमुटार हुँदै गेर्खुटारसम्म कच्ची बाटोबाट पुग्यौँ । माथिबाट त्रिशूली बजार, पुरानो बजार र ढुङ्गेतर्फ हेर्दा देखिएको दृश्यले मन नै थामिएन । आँखाभरि आँसु भरिए । मन भक्कनियर आयो । कति सुन्दर ती ठाउँहरु आज चिनिनै नसकिने भएका छन् ।

इतिहास बोकेको झोलुङ्गे पुल, केही वर्षअघि मात्र सम्पन्न भएको पक्की पुल, चालू रहेको त्रिशूली जलविद्युत् आयोजना, पुरानो बजार क्षेत्र, त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालय, राम मन्दिर, कुन कहाँ थियो भनेर छुट्याउन समेत मुस्किल भयो । विद्यालयको दुईतले भवनसम्म बालुवा र लेदोले पुरिएको छ । कैयौँ व्यापारिक भवनहरू जरैदेखि उखेलिएका छन् । बजार क्षेत्र पूरै तहसनहस भएको छ। खोला कुन रुपमा बगेको छ त्यो छुट्याउन सकिएन । पहिले सडकबाट तल हेर्दा मात्र त्रिशूली खोला देखिन्थ्यो, आज त्यही खोला मानव बस्तीमाथिबाट बगिरहेको जस्तो देखिन्छ ।

इतिहास बोकेको त्रिशूली बजार आज यति अत्याउने अवस्थामा पुगेको छ कि केही क्षण त्यहाँ उभिँदा पनि मनले प्रश्न गर्छ, ‘के यहाँ फेरि मानव बस्ती बस्न सक्ला ?’ हामी विदुर हुँदै बेत्रावतीसम्म पुग्ने योजनामा थियौँ । तर बाटोको अवस्था र त्यहाँ देखिएको विनाशका कारण गेर्खुटारसम्म मात्र पुग्न सक्यौँ ।

ठूला–ठूला पहाड चिरेर खोलाले बाटो बनाएको छ । दायाँबायाँ अकल्पनीय क्षति पुर्‍याएको छ । सयौँ बिघा खेतीयोग्य जमिन बालुवा र गेगरले पुरिएको छ । खेतबारीमा काम गरिरहेका कति मानिसहरू बाढीसँगै बेपत्ता भए, कति परिवारले आफ्ना आफन्त गुमाए, कति परिवारको वंश टुंगिए यसको यकिन आकलन गर्नसमेत कठिन छ ।

करोडौँको लगानीमा सञ्चालन भएका मत्स्यपालन, विभिन्न जलविद्युत परियोजना, ब्लक कारखाना, तारजाली उद्योग, ढुङ्गा–गिट्टी उद्योग, खाद्य उद्योग तथा अन्य निजी परियोजनाहरूको अवस्था हेर्दा मन झन् भारी भयो ।

रसुवा जोड्ने सडक गेर्खुबाटै टुटेको छ । करिब ७–८ किलोमिटर कालोपत्रे सडकसमेत कतै भिर बनेको छ, कतै खोलाले बगाएको छ । कयौँ पुल बगाएको छ ।

नेपाल–चीन सम्बन्धसँग जोडिएको गौरवपूर्ण इतिहास बोकेको बेत्रावती, उत्तरगया, आज मरुभूमिजस्तो देखिन्छ । नुवाकोट र रसुवाको सीमाना, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको त्यो पवित्र भूमि आज यस्तो अवस्थामा पुगेको छ कि कल्पना गर्न पनि गाह्रो हुन्छ ।

बेत्रवतीको बस्ती पुरै पखालिएको छ । सयौँ परिवार घरबारविहीन भएका छन्, पारिवारिक बिछोड भएका छन्, खेती योग्य लहलह परेका फाँटहरु अहिले मरुभूमी भएका छन् ।

बट्टारदेखि देवीघाटसम्म डर अझै बाँकी छ

करिब २ बजेतिर बट्टारमा खाना खायौँ । स्थानीयसँग बियोग,पिडा का कुराकानी गर्‍यौँ । त्यसपछि पुरानो बजार हुँदै देवीघाटतर्फ लाग्यौँ ।

बट्टार, त्रिशूली, बिदुर र ढुङ्गेभन्दा केही उचाइमा भए पनि, सुरक्षित रहेता पनि मानिसहरूको मनमा अझै ठूलो डर र त्रास रहेछ कि कुनै दिन त्रिशूलीको असर आउला कि भनेर । यहाँका मानिस चैनसँग सुत्न सकेका छैनन् ।

सामाजिक सञ्जालमा फैलिने अपुष्ट र भ्रामक सूचनाका कारण कतिपय मानिसहरू राति–राति भागेर माथिल्लो नुवाकोट, पिपलटार, बेल्कोटतिर भाग्न बाध्य भइरहेका रहेछन् ।

देवीघाट जाने क्रममा बट्टार इनारपाटी तल भर्खरै सञ्चालनमा आएको केन्द्रीय कारागारको तल्लो भागसमेत डुबानमा परेको देखियो ।

बुनिबेँसीमा सौर्य प्रविधिबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको परियोजनाको तल्लो भाग पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको रहेछ ।

त्यसपछि हामी चन्द्रज्योति स्कुल पुग्यौँ, जहाँ देवीघाट क्षेत्रका प्रभावित मानिसहरूलाई अस्थायी होल्डिङ सेन्टरमा राखिएको रहेछ ।त्यहाँको दृश्यले मन चिरियो । मानिसहरूको रुवाबासी थियो, चित्कार थियो, पीडा थियो ।

कसैको घर छैन, कसैका आफन्त छैनन्, कति घरबार विहीन भए, कसैको खेत छैन, कसैलाई आफ्ना आफन्तको खबर छैन । विभिन्न राहत सामग्री बाँडिरहेको दैख्यौँ, जहाँ सुरक्षाकर्मी, स्थानीइ जनप्रतिनिधि हरु प्रसस्त खटिएका थिए । देवीघाट, जहाँ इतिहास पनि रोइरहेको छ, जसको नाम सुन्नासाथ हरेक मानिसको मनमा नुवाकोटको इतिहास, धर्म र संस्कृतिको एउटा विशाल चित्र आँखाअगाडि आउँछ ।

पृथ्वीनारायण शाहको समाधिस्थल, जलपादेवी मन्दिर, तादी र त्रिशूलीको संगमस्थल, मृत्युपश्चात् सद्गति गर्ने पवित्र भूमि, नुवाकोट–काठमाडौं–धादिङ–रसुवा जोड्ने महत्वपूर्ण नाका । तर आज त्यही देवीघाटको अवस्था हेर्दा जो कोहीको मन पनि स्थिर बन्न सक्दैन ।

त्रिशूली किनारमा रहेका ठूला–ठूला भवन र संरचनाहरू जरैदेखि उखेलिएका छन् ।

झोलुङ्गे पुलको नामोनिशान छैन । तादीतर्फको पक्की पुलको समेत अवशेष भेट्न मुस्किल छ । कतिपय घरका चार तलासम्म बाढी पसेको छ । घरका छतमा ठूला–ठूला रुखहरू आएर अड्किएका छन् ।

म आफैँ पनि २०६२–०६३ सालतिर एसएलसीको तयारी कक्षा लिन करिब तीन महिना बसेको यही पवित्र ठाउँलाई आज खण्डहर बनेको देख्दा मन भारी भएर आयो । त्यहाँको हरेक ठाउँ धार्मिक रुपमा महत्व बोकेको छ । पृथ्वीनारायण शाहको सालिक भन्दा तल पुरै भाग डुबानमा परेको छ ।

मानिसहरू आफ्ना बाँकी रहेका घरभित्र पसेर लुगा–फाटो र महत्वपूर्ण कागजात निकालिरहेका थिए ।

उनीहरूको अनुहारमा रहेको पीडा हर्नु बाहेक अरु केही गर्न सकिने अवस्था थिएन जुन पीडा शब्दमा व्यक्त गर्न सकिँदैन ।

देवीघाटमा रहेको जालपादेवी मन्दिर कहाँ थियो भनेर अनुमान लगाउनसमेत मुस्किल भयो । नुवाकोटको पहिलो वृद्धाश्रमका रूपमा चिनिएको भवनको पहिलो तल लेदोले भरिएको छ । मानिसहरुका भित्रका घरमा समेत लेदो पुगेको छ । बगाएर लेराएका मृत जनावरहरुको लास गनाएर नराम्रो गन्ध फैलिन सुरु भएको छ ।

देवीघाटको पारिपट्टि पनि खेतीयोग्य जमिन, घर, कलकारखाना र उद्योगहरू पूर्ण रूपमा क्षतविक्षत भएका छन् ।

त्रिशूली खोला पहिलेभन्दा निकै माथि आएको देखिन्छ । आज नदी किनारमा रहेका बस्तीहरूबाट बगिरहेको स्पस्ट देखिन्छ- खोला अब पहिले बगेको ठाउँमा मात्र सीमित छैन । आउँदा वर्षायाममा यो खोला कुन तहसम्म र कुन स्वरूपमा बग्ला भन्ने कुरा अहिले सबैका लागि ठूलो चिन्ताको विषय बनेको छ ।

कतिपय स्थानमा ८–१० फिटसम्म बालुवा र लेदो थुप्रिएको छ । यति ठूलो मात्रामा जमेको बालुवा हटाएर फेरि त्यहाँ बस्ती बसाउन सम्भव होला कि नहोला भन्ने प्रश्नसमेत उठेको छ ।

‘यो दोष खोज्ने होइन, घाउमा मल्हम लगाउने बेला हो’

प्राकृतिक विपत्तिमा पहिलो प्राथमिकता भनेकै मानिसको ज्यान बचाउनु हो । उद्धार, राहत, घाइतेहरूको उपचार र सुरक्षित स्थानमा स्थानान्तरण गर्नु राज्यको पहिलो दायित्व हो ।

सरकारले आफ्नो स्रोत, साधन र दक्षताले भ्याएसम्म काम गरिरहेको मैले देखेको छु । यस विपत्तिमा देशभित्र र बाहिरबाट सहयोग गर्ने सम्पूर्ण दाता, संघ–संस्था, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय युवा तथा उद्धारमा खटिनुभएका सबैप्रति कोटि–कोटि नमन ।

यो बेला राजनीतिकरण गर्ने, एक–अर्कामाथि आरोप–प्रत्यारोप गर्ने वा सरकारको कामप्रति मात्र कटाक्ष गर्ने समय होइन । यो बेला सबै मिलेर घाउमा मल्हम लगाउने बेला हो । सरकार एक्लैले यति ठूलो विपत्तिको सामना गर्न सक्दैन । राज्यको जिम्मेवारी आफ्नो ठाउँमा छ, तर नागरिकको पनि जिम्मेवारी छ । हामी सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ । कसैले श्रम दिन सक्छ, कसैले आर्थिक सहयोग, कसैले राहत सामग्री, कसैले आफ्नो सीप र समय जुन कुरा सबैले आफ्नो आफ्नो तबर बाट गरिरहनुभएको छ ।

हामिले गरेको सानो सहयोग पनि अहिले कसैका लागि जीवनको ठूलो सहारा बन्न सक्छ ।

(बाढी प्रभावित नुवाकोटका मार्मिक पौडेलले आफ्नो जिल्लामा देखेको अनुभव ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?