नेपाल चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

लोकपथ
0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद्‌बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेर नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका ड्रोनमध्ये २ वटा म्याभिक फोर प्रो, ५ वटा एयर थ्री एस एफएमसी आरसी टु, २ वटा मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टू, ६ वटा लिटो वान प्लस एफएमसी आर थ्री तथा २ वटा लिटो एक्स वान एफएमसी आर टू रहेका छन् ।

ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कँडेलको उपस्थिति रहेको थियो ।

विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र प्रविधिमैत्री बनाउन सर्भिलेन्स ड्रोनले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको चेम्बरले जनाएको छ । कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाको पहिचान तथा उद्धार कार्यको समन्वयमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले यसअघि नै ५० केजी पेलोड क्षमताको एउटा ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?