काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वासको संकेत भएको बताइन् ।
उनले अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति व्यंग्य गर्दै ३६ देश चिनेको दाबी गरिए पनि आफ्नै देशको अर्थतन्त्रको अवस्था बुझ्न नसकेको आरोप लगाइन् ।
‘अर्थमन्त्रीज्यूले ३६ देशलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरूले भन्नुहुन्छ । तर उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन,’ उनले भनिन्, ‘उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो ।’
सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा ठूलो मात्रामा तरलता रहेको अवस्थामा समेत व्यवसायीहरूले ऋण लिएर लगानी गर्न नचाहनुको कारण सरकारले खोज्नुपर्ने बताइन् । उनले दुई तिहाइ बहुमतको सरकारको आर्थिक नीतिप्रति व्यवसायीहरूमा अविश्वास पैदा भएको हो कि भन्ने प्रश्नसमेत उठाइन् ।
त्यस्तै, वर्तमान सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको उनले दाबी गरिन् । पुँजीबजारमा समस्या देखिँदा पनि सरकारले त्यसको समाधानका लागि प्रभावकारी पहल नगरेको उनको आरोप थियो ।
‘वर्तमान सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ,’ उनले भनिन्, ‘तर यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ । अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र ?’
सङ्ग्रौलाले अर्थमन्त्री वाग्लेले पुँजीबजार र समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने माग गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया