जेनजी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ

लोकपथ
0
Shares

काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेनजी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ बनाएका छन् ।

जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले उक्त स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिए ।

उनले स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले सरकारले व्यहोर्नुपर्ने बताए । उनले शहीदका परिवार तथा घाइतेहरु आर्थिक रुपमा कमजोर रहेको उल्लेख गर्दै कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरे ।

उनले संयुक्त समितिले आगामी असोज १५ गतेदेखि सोही संसद भवनभित्र सात दिने महायज्ञ सञ्चालन गर्ने योजना रहेको समेत बताए । उनले महायज्ञको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पनि सरकारले लिनुपर्ने माग गरे ।

उनले भने, ‘हामी जेनजी आन्दोलनका शहीदको स्मृतिमा यही भदौ २३ गते स्मृति दिवस मनाउँदैछौँ । आन्दोलनको क्रममा जलाइएको बानेश्वरस्थित संसद भवनभित्रै स्मृति दिवस मनाउँदैछौँ । हामी जेन–जी शहीद र घाइतेको परिवार आर्थिक रुपमा त्यति बलियो छैन । त्यसकारण सरकारले यो कार्यक्रमको सबै कुराको स्वामित्व लिओस् । तर आयोजक भने शहीद परिवार र घाइते नै हुन्छन् । र हाम्रो अर्को कार्यक्रम पनि छ आउँदो असोज १५ गतेदेखि हामी ७ दिने महायज्ञ पनि लगाउँदैछौँ । त्यो महायज्ञ समेत त्यही भवनभित्र लगाउनेछौँ । त्यसको पनि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी समेत सरकार सरकारले लिनुपर्छ । मैले यो विषयमा गृहमन्त्रीसँग छलफल गरेको थिएँ । उहाँले यो विषयमा प्रधानमन्त्रीज्यूसँग छलफल गरेर जानकारी गराउँछु भन्नुभएको थियो । तर अहिलेसम्म पनि जानकारी गराउनुभएको छैन ।’

जेनजी शहीदको स्मृति दिवस मनाउने सम्बन्धमा गृहमन्त्री सुधन गुरुङसँग छलफल भइरहेको समेत उनले जानकारी दिए ।

सरकारले यसअघि नै प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?