काठमाडौं । चितवनमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दिउँसो १२ः२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा ३ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा १–१५ प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो ।
उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको पहिचान भने खुल्न बाँकी रहेको छ ।
घटनापछि प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया