बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन् ।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

यसअघि भदौ ७ गते विश्वासको मत लिने तयारीसहित प्रदेशसभा सचिवालयमा पत्राचार गरेका मुख्यमन्त्री थापाले मिति संशोधन गर्दै भदौ ८ गतेका लागि विश्वासको मत लिन प्रस्ताव गरेका थिए । सोहीअनुसार प्रदेशसभा सचिवालय, हेटौँडाले भदौ ८ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची राखिएको छ ।

मुख्यमन्त्री थापाका अनुसार गृहजिल्ला जाने कार्यक्रम तय भएको र अन्य दलहरूको सुझावका आधारमा विश्वासको मत लिने मिति सारिएको हो । उनका अनुसार आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर विश्वासको मतसम्बन्धी प्रक्रिया टुंग्याइनेछ भने सोमबार मत विभाजनसहितको प्रक्रिया अघि बढाइनेछ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि थापाले भदौ ३ गते दाबी पेस गरेका थिए । उनी भदौ ४ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार सञ्चालनका लागि बहुमत सिद्ध गर्न ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । बिहीबार मुख्यमन्त्रीको शपथ लिएका थापाले सोही दिन ६ जना मन्त्रीसमेत नियुक्त गरेका थिए ।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?