काठमाडौं । गायिका सुशिला गौतमको स्वरमा नयाँ नेपाली गीत ‘मोरे सैयाँ’ सार्वजनिक भएको छ । प्रेमभावसँगै मौलिक नेपाली संस्कृति र परिवेशलाई भिडियोमार्फत प्रस्तुत गरिएको गीतमा थारू संस्कृतिको आकर्षक झल्को देख्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा थारू समुदायको मौलिक पहिरन, नृत्य, सांस्कृतिक परम्परा तथा स्थानीय परिवेशलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । आधुनिक सांगीतिक प्रस्तुतिसँगै नेपाली मौलिक संस्कृतिलाई दृश्यमा उतार्ने प्रयासले ‘मोरे सैयाँ’लाई अन्य सामान्य म्युजिक भिडियोभन्दा फरक पहिचान दिएको छ ।
गीतमा सुशिला गौतम र खेम सेन्चुरीको स्वर रहेको छ । नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीकै संगीत र हुकलाइन रहेको गीतलाई एचबीएन किस्मतले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । कुमार विश्वकर्मा रेकर्डिस्ट रहेको गीत वन डीबी एचडी नेक्स्ट लेभलमा रेकर्ड गरिएको हो ।
‘मोरे सैयाँ’को भिडियोमा खेम सेन्चुरी र गरिमा शर्मा मुख्य भूमिकामा देखिएका छन् । प्रेम र सम्बन्धको भावलाई थारू सांस्कृतिक परिवेशसँग जोडेर प्रस्तुत गरिएको भिडियोमा उनीहरूको जोडीले गीतको कथालाई अगाडि बढाएको छ ।
भिडियोको निर्देशन सुनिल बीकेले गरेका छन् भने कोरियोग्राफी रोशन विश्वकर्माको रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोको सम्पादन प्रबिन भट्टले गरेका हुन् । भिडियोको कलर राजेन्द्र मोक्तानले सम्हालेका छन् ।
भिडियोमा थारू संस्कृतिको मौलिकता देखाउन पहिरन, नृत्य र सांस्कृतिक परिवेशलाई विशेष महत्व दिइएको छ । रंगीन दृश्य, स्थानीय परिवेश र सांस्कृतिक प्रस्तुतिको संयोजनले गीतको भिडियोमा छुट्टै सौन्दर्य थपेको छ ।
भिडियो निर्माणमा उत्तमकुमार कार्कीले सहायक सम्पादन, टाैवा क्रिएसनले ग्राफिक्स, कबिन खड्काले मेकअप तथा दिपेन गौतम ‘माइक्याल’ले प्रोडक्सन म्यानेजरका रूपमा जिम्मेवारी सम्हालेका छन् । स्थिर फोटोग्राफी लक्ष्मण पाण्डेको रहेको छ भने पोस्ट प्रोडक्सन गलबन्दी प्रोडक्सनले गरेको हो ।
‘मोरे सैयाँ’ सुशिला गौतमको सांगीतिक यात्रामा अर्को नयाँ कोशेलीका रूपमा आएको छ । यसअघि ‘माइतीको माया’, ‘गुल्मी चन्द्रकोट’, ‘जवानीले ढुनुमुनु’, ‘घन्काउँदै बाजा’, ‘भुइँ छोडेकी चरी’, ‘एक नजर लाइदेऊँ माया’, ‘रातो भाले’ र ‘पाहुना’ लगायतका गीतमार्फत उनले दर्शक–श्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन् ।
यी गीतमार्फत प्राप्त लोकप्रियताले गौतमलाई नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा हुने सांगीतिक कार्यक्रममा समेत पुर्याएको छ । नेपाली गीत–संगीतलाई विदेशमा रहेका नेपाली समुदायमाझ पुर्याउँदै आएकी गौतम यस वर्षको तीज विशेष सांगीतिक यात्राका लागि युरोपका विभिन्न देशमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुँदैछिन् ।
नयाँ गीत ‘मोरे सैयाँ’ सार्वजनिक गरेलगत्तै शुक्रबार उनी युरोप यात्राअन्तर्गत फिनल्यान्ड प्रस्थान गरेकी छन् । सांगीतिक कार्यक्रमसँगै विदेशमा रहेका नेपालीमाझ नेपाली मौलिक गीत–संगीतको प्रस्तुति लिएर पुग्ने उनको यो यात्राले उनको सांगीतिक सक्रियतालाई थप निरन्तरता दिनेछ ।
आफ्नो स्वरमा सार्वजनिक भएको ‘मोरे सैयाँ’मार्फत सुशिला गौतमले सांगीतिक प्रस्तुतिसँगै नेपाली मौलिक संस्कृति र पहिचानलाई पनि भिडियोमा जोड्ने प्रयास गरेकी छन् । गीतमा प्रेमको भाव र भिडियोमा थारू संस्कृतिको रंग प्रस्तुत भएकाले ‘मोरे सैयाँ’ सांगीतिक मनोरञ्जनसँगै सांस्कृतिक स्वादका लागि पनि रुचिकर बन्न सक्ने देखिन्छ ।
‘मोरे सैयाँ’ सुशिला गौतम अफिसियलमार्फत सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया