काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
स्मार्ट सेलको लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेश बमोजिम ८० लाख बराबरको बैंक ग्यारेन्टी बुझाएर पाण्डे रिहा भएका हुन् ।
अदालतको आदेशपछि रिहा भएका पाण्डेले थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।
स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भएपछि सरकारी स्वामित्वमा आउनुपर्ने उपकरणहरु नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गैरकानुनी रुपमा लिलाम गरेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लिलामी प्रकरणमा ४ अर्ब ६० करोड बिगो कायम गर्दै ठगी, संगठित अपराध र बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमति पत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि यसको अनुमति पत्र स्वतः रद्द भएको थियो । अनुमति पत्र रद्द भएपछि नियमावलीअनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार र दूरसञ्चार सञ्जाल प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया