काठमाडौं । सरकारले रासायनिक मलको आपूर्तिमा देखिएको समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको हो ।
कार्यदलमा कृषि, वन तथा वातावरण मन्त्रालय र मातहतका निकाय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालयलगायतका निकायका पदाधिकारी सदस्य रहेका छन् ।
कार्यदलले गठन भएको ६० दिनभित्र अध्ययन सम्पन्न गरी समस्या समाधानका विकल्पसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताए ।
उनले भने, ‘मलसम्बन्धी देखिएका समस्याको अध्ययन गरी अल्पकालीन, दीर्घकालीन समाधानको विकल्प सिफारिस गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका सदस्यहरू समेत गरी १२ सदस्यीय अध्ययन कार्यदल गठन भएको छ ।
किसानले प्रत्येक वर्ष मलको चरम अभाव झेल्दै आएका छन् । समयमा पर्याप्त रासायनिक मल उपलब्ध नहुँदा कृषि उत्पादनमा समेत असर पर्ने गरेको छ । सरकारले मल आपूर्तिको दीर्घकालीन समाधान खोज्न अध्ययन कार्यदल गठन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया