काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र होइन, उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित छ ।
यही कारण १८औँ नाडा अटो शो २०२६ लाई नाडाले आफ्नो ५०औँ स्थापना वर्षको स्वर्ण जयन्तीसँग जोडेर अझ फराकिलो सन्देश दिने गरी तयारी गरेको छ ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो शोमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ ।
तर यसपटक नाडाले अटो शोको परिचय गाडी प्रदर्शनमा मात्र सीमित गर्न खोजेको छैन । रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई प्रदर्शनीको केन्द्रमा राखिएको छ ।
५०औँ वर्षको अवसरमा आयोजना हुन लागेको यो संस्करणले नाडाको पाँच दशकको यात्रा र अबको अटोमोबाइल क्षेत्रबीचको सम्बन्ध देखाउने प्रयास गर्नेछ ।
‘अब अटो शो गाडी हेर्ने ठाउँ मात्र रहेन’
अटोमोबाइल क्षेत्र अहिले तीव्र परिवर्तनको चरणमा छ । पेट्रोल–डिजेलबाट विद्युतीय सवारीतर्फको परिवर्तनसँगै सवारीसाधनमा एआई, कनेक्टिभिटी र अटोमेसनको प्रयोग बढिरहेको छ ।
‘अहिले अटोमोबाइल भनेको गाडी मात्र होइन। यो प्रविधि, मोबिलिटी, रोजगारी, वित्तीय सेवा र उद्योगसँग जोडिएको ठूलो इकोसिस्टम हो। त्यसैले अटो शोमा पनि त्यही परिवर्तन देखिनुपर्छ भन्ने हाम्रो सोच हो ।
यही सोचअनुसार यसपटक दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् ।
सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गर्दा एआई प्रविधिको प्रयोगमार्फत सम्बन्धित गाडीको विवरण डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था पनि मिलाइँदैछ ।
प्रविधिलाई प्रदर्शनको आकर्षणका रूपमा मात्र नभई दर्शकको अनुभव सहज बनाउने माध्यमका रूपमा प्रयोग गर्न खोजिएको हो ।
हामीले दर्शकलाई गाडी देखाएर मात्र पठाउन चाहेका छैनौँ । उसले गाडीबारे बुझोस्, तुलना गरोस् र प्रविधिले भविष्यमा हाम्रो मोबिलिटीलाई कहाँ लैजाँदैछ भन्ने अनुभव गरोस् भन्ने हो ।
‘मेड इन नेपाल’ लाई छुट्टै पहिचान
यस वर्षको अटो शोको अर्को महत्त्वपूर्ण पक्ष ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन हो । अटो शोको इतिहासमै पहिलोपटक छुट्टै प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शन गरिँदैछ ।
नेपालमै बनेका मोटरसाइकल, स्वदेशमा एसेम्बल भएका स्कुटर तथा बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पार्ट्सलाई पनि यहाँ राखिनेछ ।
यो केवल एउटा प्याभिलियन होइन, नेपाली उद्योगबारे धारणा बदल्ने प्रयास हो ।
नेपालमा उत्पादन सम्भव छैन भन्ने सोचलाई हामीले विस्तारै बदल्नुपर्छ । स्वदेशमा उद्योग बस्यो भने त्यसले रोजगारी सिर्जना गर्छ, सीप विकास गर्छ र अर्थतन्त्रमा मूल्य थप्छ ।
त्यसैले ‘मेड इन नेपाल’लाई अटो शोमा छुट्टै स्थान दिनु हाम्रो प्राथमिकता हो ।
अटो शोको मूल नारा पनि ‘उद्योगदेखि रोजगारसम्म’ राखिएको छ । नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ । प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारीसँग यो क्षेत्र जोडिएको नाडाको दाबी छ ।
मल्लको भनाइमा यही तथ्यले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन आयात–बिक्रीको व्यवसायका रूपमा बुझ्न नहुने देखाउँछ ।
अटोमोबाइल क्षेत्रसँग जोडिएको रोजगारी र राजस्वलाई हेर्दा यो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो। त्यसैले उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउन नीति, लगानी, पूर्वाधार र प्रविधि सबै पक्षमा सँगसँगै काम गर्नुपर्छ ।
ईभीसँगै नीतिगत बहस
यसपटकको अटो शोमा विद्युतीय सवारीसाधनको उपस्थिति उल्लेख्य रहनेछ। विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् । स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियम पनि आयोजना हुनेछ ।
ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता पनि बढेको छ ।
ईभी बिक्री बढ्नु मात्रै पर्याप्त हुँदैन। त्यससँगै चार्जिङ पूर्वाधार, दक्ष जनशक्ति, सर्भिस र नीतिगत स्थिरता पनि चाहिन्छ। अबको बहस यही समग्र प्रणाली कसरी बलियो बनाउने भन्नेमा हुनुपर्छ ।
दर्शकका लागि सहज व्यवस्थापन
६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ ।
भीड व्यवस्थापनलाई ध्यान दिँदै नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क तथा अन्य स्थानमा पार्किङको व्यवस्था गरिनेछ । बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ ।
प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्क पनि रहनेछन् । आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नाडाको ५०औँ वर्षमा आयोजना हुन लागेको १८औँ अटो शोका बारेमा मल्लको अन्तिम सन्देश भने बजारभन्दा फराकिलो छ ।
हाम्रो लक्ष्य एउटा सफल अटो शो गर्नु मात्र होइन । ५० वर्षमा नाडाले जहाँसम्म यात्रा गरेको छ, त्यसबाट अब नेपाली अटोमोबाइल उद्योगलाई कहाँ लैजाने भन्ने बहस पनि सुरु गर्नुपर्छ। उद्योग बलियो भयो भने व्यवसायसँगै रोजगारी र अर्थतन्त्र पनि बलियो हुन्छ ।
भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने अटो शोमा त्यसैले नयाँ गाडी मात्रै देखिने छैनन्। नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी यात्राको एउटा चित्र पनि देखिनेछ ।
(लेखक मल्ल नाडाका महासचिव हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया