काठमाडौं । क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीका कारण कलंकी–नागढुंगा सडकमा क्षति बढ्दै गएको छ । सडक विभागका अनुसार ओभरलोडका कारण सडकको आयु घट्नुका साथै बालुवा, गिट्टीलगायत सामग्री बोकेका सवारीले पानी चुहाउँदा दुर्घटनाको जोखिमसमेत बढेको छ ।
काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख सुवोध देवकोटाका अनुसार कलंकीदेखि नागढुङ्गासम्मको सडकमा छ महिनाअघि मात्रै ओभरले गरिएको थियो । सामान्य अवस्थामा सडकमा कम्तीमा पाँच वर्षमा एकपटक ओभरले गर्नुपर्ने भए पनि ओभरलोडका कारण दुई वर्षमै मर्मत गर्नुपर्ने अवस्था आउन थालेको उनले बताए ।
सडकको अवस्था र ओभरलोडसम्बन्धी गुनासो आएपछि सडक विभागले मंगलबार राति उक्त सडकखण्डमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय ट्रकले सडकमा पानी चुहाउँदै हिँडेको तथा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएको देवकोटाले बताए ।
उनका अनुसार एउटा एक्सलको सडक क्षमता १० टन भए पनि अनुगमनका क्रममा सिंगल एक्सलका ट्रकले १२ देखि १३ टनसम्म र डबल एक्सलका ट्रकले २५ टनसम्म भार बोकेको भेटिएको छ । भार बढाउनुपर्ने अवस्थामा ट्रकको एक्सल क्षमता पनि सोहीअनुसार बढाउनुपर्ने भए पनि मापदण्डविपरीत भार बोक्ने प्रवृत्ति बढेको उनले बताए ।
त्यस्तै, कतिपय ट्रकमा यातायात व्यवस्था कार्यालयबाट स्वीकृत मापदण्डभन्दा ठूलो ‘ढल्ला’ बनाइएको समेत भेटिएको छ । स्वीकृत क्षमताभन्दा ठूलो ढल्ला थपेर बढी सामग्री बोक्ने प्रवृत्तिले सडकमा थप क्षति पुगेको विभागको भनाइ छ ।
बालुवा, गिट्टीजस्ता सामग्री बोकेका ट्रकले सडकमा पानी चुहाउँदा सडकको सतह चिप्लो हुने र मोटरसाइकल तथा अन्य सवारीको ब्रेक प्रभावकारी नहुन सक्ने भएकाले दुर्घटनाको जोखिम बढ्ने देवकोटाले बताए ।
ओभरलोड नियन्त्रणका लागि सडक विभागले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । सडक विभागसँग आफैं कारबाही गर्ने अधिकार नभएकाले सम्बन्धित निकायसँगको समन्वयमा ओभरलोड नियन्त्रण गर्नुपर्ने देवकोटाको भनाइ छ ।
उनले यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, जिल्ला प्रशासन र प्रहरीले नियमित अनुगमन तथा नियमन गरे सडक क्षति र दुर्घटनाको जोखिम घटाउन सकिने बताए ।
सडकको दिगोपन कायम गर्न ओभरलोड र सडकमा पानी चुहाउने सवारीमाथि प्रभावकारी नियमन आवश्यक रहेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया