काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ ।
नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडक खण्डमा यातायात पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ ।
कोशी प्रदेशमा मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा सडक पूर्ण रूपमा बन्द भएको छ। त्यहाँ वैकल्पिक बाटो भने उपलब्ध छ ।
मध्यपहाडी लोकमार्गको भोजपुरको बोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ ।
बागमती प्रदेशमा बीपी राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ । बिहान ४ बजेपछि अवस्था हेरेर सवारी चल्न दिइने गरिएको छ । कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ ।
अरनिको राजमार्गको भोटेकोशीको कोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडकको उत्तरगयास्थित खाल्टेमा बाढीका कारण सडक अवरुद्ध भएको छ ।
गण्डकी प्रदेशमा बेसीसहर–मनाङ सडकको रामबजारमा पहिरोका कारण यातायात पूर्ण रूपमा रोकिएको छ । बाढीका कारण जोमसोम–कोराला सडक पनि बन्द छ । बेनी–जोमसोम सडक भने एकतर्फी रूपमा सञ्चालनमा छ। कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडकका विभिन्न स्थानमा पहिरोका कारण एकतर्फी यातायात चलिरहेको छ ।
कर्णाली प्रदेशमा पनि सडकमा ठूलो असर परेको छ । जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा बाढी आएपछि सडक बन्द भएको छ। भेरी करिडोरको चिसापानीमा बाढीका कारण यातायात ठप्प छ । नाग्म–गमगडी सडक पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ ।
प्राकृतिक विपद्का कारण सडक अवरुद्ध भएकाले यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया