ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

लोकपथ
0
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले सूचना प्राप्त भएको १५ मिनेटभित्र चिकित्सकसहितको एम्बुलेन्स बिरामीको घरमै पुग्ने सेवा आजदेखि सुरु गरेको छ ।

महानगरले हाल पाँचवटा एम्बुलेन्समार्फत सेवा सञ्चालनमा ल्याएको हो । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मीसहित अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधि, भेन्टिलेटरलगायत अत्यावश्यक उपकरणको व्यवस्था गरिएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले प्रारम्भिक, आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्दै बिरामीलाई आवश्यक परे तत्काल अस्पताल पुर्‍याउन सहयोग गर्ने उद्देश्यले सेवा सुरु गरिएको बताए । उनका अनुसार सूचना प्राप्त भएको १५ मिनेटभित्र स्वास्थ्यकर्मीको टोली बिरामीकहाँ पुग्नेछ ।

महर्जनले सिटिनेटको सदस्यका रूपमा फिलिपिन्सको माकाटी भ्रमणका क्रममा यस्तै सेवा प्रभावकारी रूपमा सञ्चालन भएको देखेपछि ललितपुरमा पनि लागू गर्ने प्रयास गरिएको बताए । उनले कार्यविधि निर्माण गरेर सेवा सुरु गरिएको जानकारी दिए ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरको पहल उदाहरणीय र गौरव गर्न लायक रहेको बताए । चिकित्सक र अत्यावश्यक मेडिकल उपकरणसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्नु सामान्य एम्बुलेन्स सेवाभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण काम भएको उनको भनाइ थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महानगरले सुरु गरेको स्वास्थ्यसम्बन्धी सेवा देशभरका स्थानीय तहका लागि अनुकरणीय र नयाँ कार्य भएको बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। नवीसमान सिंह प्रधानले चिकित्सक र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु हुनु सकारात्मक तथा सराहनीय भएको बताए । उनले अस्पताल पुग्नुअघि नै निःशुल्क आकस्मिक सेवा पाउँदा महानगरवासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?