काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले राखेका विभिन्न माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच आज भएको छलफलमा व्यवसायीका माग समाधान गर्न मन्त्रालय सकारात्मक भएको हो ।
सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि कार्यालय सञ्चालन गर्ने भएका छन् । यसअघि व्यवसायीहरूले सेवा शुल्क तोक्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्नेलगायत १५ बुँदे माग राख्दै कार्यालय बन्द गर्ने र श्रमिक पठाउन रोक्ने घोषणा गरेका थिए ।
संघले साउन २२ गतेदेखि १५ बुँदे माग राख्दै आन्दोलन तथा ध्यानाकर्षण कार्यक्रम गर्दै आएको थियो ।
श्रम मन्त्रालयमा मन्त्री र सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलमा मागका विषयमा विस्तृत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार व्यवसायीका अधिकांश माग नीति तथा कानुनसँग सम्बन्धित छन् । ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनका क्रममा सम्बोधन गर्न सकिने भएकाले मन्त्रालय र संघले आवश्यक पहल गर्ने सहमति भएको छ ।
मन्त्रालयले वैदेशिक रोजगारीलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन ऐन तथा नियमावली संशोधनको प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया