काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन बीमा कम्पनीहरूको नाफामा मिश्रित परिणाम देखिएको छ । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ८ वटाले नाफा बढाएका छन् भने ६ कम्पनीको नाफा घटेको छ ।
नाफा बढाउने कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १०६.६६ प्रतिशतले बढेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको नाफा ७१.९१ प्रतिशत, सूर्यज्योति लाइफको १०.१४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.७० प्रतिशत र रिलायबल नेपाल लाइफको १.१९ प्रतिशतले बढेको छ ।
प्रभु महालक्ष्मी लाइफको नाफा १.३५ प्रतिशत, एशियन लाइफको १.२० प्रतिशत र आईएमई लाइफको ०.१५ प्रतिशतले बढेको छ ।
आईएमई लाइफको नाफा सबैभन्दा धेरै
१४ जीवन बीमा कम्पनीले गत वर्ष कुल ५ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएका छन् । रकमका आधारमा आईएमई लाइफ सबैभन्दा धेरै नाफा कमाउने कम्पनी बनेको छ । कम्पनीले ५८ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ ।
त्यसपछि रिलायबल नेपाल लाइफले ५८ करोड २६ लाख, नेपाल लाइफले ४६ करोड ५४ लाख, सन नेपाल लाइफले ४१ करोड ८५ लाख र एशियन लाइफले ४१ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता, राष्ट्रिय जीवन बीमा कम्पनी भने गत वर्ष २ करोड ३८ लाख रुपैयाँ घाटामा रहेको छ ।
६ कम्पनीको नाफा घट्यो
गत आर्थिक वर्ष राष्ट्रिय जीवन बीमा कम्पनीसहित मेटलाइफ, हिमालयन लाइफ, सन नेपाल लाइफ, नेपाल लाइफ र नेशनल लाइफको नाफा घटेको छ । समग्रमा जीवन बीमा क्षेत्रको नाफा ९.१७ प्रतिशतले घटेको देखिन्छ ।
बीमा कम्पनीहरूको नाफामा आएको गिरावटको प्रमुख कारण बैंकको घट्दो ब्याजदर रहेको बताइएको छ । पछिल्लो दुई वर्षयता वाणिज्य बैंकको ब्याजदर लगातार घट्दै आएको छ । अहिले संस्थागत निक्षेपको ब्याजदर करिब २।७५ प्रतिशतमा झरेको छ ।
जीवन बीमा कम्पनीहरूले आफ्नो कुल लगानीको ७५ प्रतिशतभन्दा बढी रकम मुद्दती निक्षेपमा राख्दै आएका छन् । त्यसैले बैंकको ब्याजदर घट्दा बीमा कम्पनीको आम्दानी र नाफामा समेत प्रत्यक्ष असर परेको राष्ट्रिय जीवन बीमा कम्पनीका सीईओ सुन्दर पन्थीले बताए ।
उनका अनुसार बीमा कम्पनीको ठूलो हिस्सा मुद्दती निक्षेपमा रहेकाले ब्याजदर घट्दा ब्यालेन्ससिटमा समेत असर पर्छ । आगामी दिनमा बैंकको ब्याजदर बढे बीमा कम्पनीहरूको नाफा पनि सुधार हुने उनको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया