काठमाडौं । आर्थिक गतिविधिमा अपेक्षित गति नदेखिए पनि नेपालको बैंकिङ क्षेत्रमा गत आर्थिक वर्ष २०८२–८३ मा उल्लेख्य सुधार देखिएको छ।
देशका हाल विद्यमान रहेका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको समग्र खुद नाफा अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतभन्दा बढीले बढेको हो ।
समीक्षा अवधिमा यी बैंकहरूले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०८१–०८२ मा बैंकहरूको कुल खुद नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ थियो । यस आधारमा एक वर्षमा बैंकहरूको नाफा १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले थपिएको छ ।
बैंकहरूको नाफामा आएको सुधारले वित्तीय क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किन थालेको संकेत गरेको छ । पछिल्लो समय शहरी क्षेत्रमा घरजग्गा कारोबारमा देखिएको सक्रियता, ऋणको ब्याज असुलीका लागि नियामकबाट प्राप्त अतिरिक्त समय तथा केही बैंकहरूले खराब कर्जाको व्यवस्थापनमा अपनाएका विभिन्न रणनीतिले पनि नाफा सुधारमा भूमिका खेलेको देखिन्छ ।
नाफामा नबिल अगाडि
कुल नाफाको आधारमा नबिल बैंकले आफ्नो अग्रता कायमै राखेको छ । बैंकले गत आर्थिक वर्ष ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशत बढी हो ।
तर नाफा वृद्धिदरको हिसाबले भने हिमालयन बैंक सबैभन्दा अगाडि देखिएको छ । अघिल्लो वर्ष कमजोर नाफा आर्जन गरेको बैंकले यसपटक १ हजार ४१ प्रतिशतको वृद्धि गर्दै खुद नाफा १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंकको नाफामा पनि असाधारण सुधार देखिएको छ । बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३०५.९५ प्रतिशत बढी हो । नाफाको आकारमा कुमारी बैंक नबिलको निकै नजिक पुगेको छ ।
यसैगरी सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडले पनि उल्लेख्य नाफा वृद्धि गरेका छन् । यी बैंकको खुद नाफा क्रमशः ६३.०५ प्रतिशत, ६०.६८ प्रतिशत र ४६.२० प्रतिशतले बढेको छ ।
एनएमबी, सानिमा, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकले पनि आर्थिक गतिविधिमा देखिएको उतारचढावका बीच अर्बौं रुपैयाँ खुद नाफा कायम गरेका छन् ।
घाटाबाट नाफाको बाटोमा एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकका लागि गत आर्थिक वर्ष सुधारतर्फ फर्किएको वर्ष बनेको छ । अघिल्लो आर्थिक वर्ष करिब पौने चार अर्ब रुपैयाँ घाटामा रहेको बैंकले यसपटक १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यसले बैंकलाई अघिल्लो वर्षको ठूलो घाटाबाट बाहिर निकाल्दै नाफाको अवस्थामा फर्काएको छ।
केही बैंकको नाफा घट्यो
समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि सबै बैंकको वित्तीय प्रदर्शन भने सकारात्मक रहेन । केही वाणिज्य बैंकले अघिल्लो वर्षको तुलनामा कम नाफा कमाएका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ५.३८ प्रतिशतले घटेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको नाफा २३.२६ प्रतिशत, कृषि विकास बैंकको २९.५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३६.५८ प्रतिशतले घटेको छ ।
सबैभन्दा कमजोर प्रदर्शन गर्ने बैंकमध्ये प्रभु बैंक देखिएको छ । अघिल्लो आर्थिक वर्ष नाफामा रहेको बैंक गत आर्थिक वर्ष भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा गएको छ ।
सुधारसँगै जोखिम व्यवस्थापनमा चुनौती
बैंकहरूको समग्र नाफामा आएको उल्लेख्य वृद्धिले वित्तीय क्षेत्रमा सकारात्मक वातावरण बन्न थालेको संकेत गरे पनि बैंकिङ क्षेत्र पूर्ण रूपमा जोखिममुक्त भने भइसकेको छैन । केही ठूला बैंकको नाफा घट्नु र प्रभु बैंक घाटामा जानुले कर्जा व्यवस्थापन, खराब ऋण नियन्त्रण र आम्दानीको दिगोपन अझै चुनौतीपूर्ण रहेको देखाउँछ।
समग्र तथ्यांकले भने गत आर्थिक वर्ष नेपाली बैंकिङ क्षेत्रका लागि सुधारको वर्ष बनेको देखाएको छ । नाफामा आएको वृद्धिले बैंकहरूको वित्तीय स्वास्थ्यमा सुधार भएको संकेत गरे पनि आगामी दिनमा खराब कर्जा नियन्त्रण, ऋणको गुणस्तर सुधार र दिगो आम्दानी कायम राख्नु बैंकहरूको प्रमुख चुनौती हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया