पोखरा । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रालिले करिब ६ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५, हेम्जा मिलनटोलबाट काठमाडौंका लागि दैनिक बिहान ६ बजे सेवा सञ्चालन गर्ने जनाएको छ ।
पोखरा पयाङमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बसको शुभारम्भ गरेका हुन् । कम्पनीका अनुसार लामो समयदेखि यात्रुहरूको प्रतीक्षामा रहेको उक्त सेवा आगामी भदौ ३ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ ।
पर्यटकीय राजधानी पोखराबाट काठमाडौं तथा मुक्तिनाथलगायतका धार्मिक र पर्यटकीय गन्तव्यमा सहज र सुविधायुक्त यातायात सेवा विस्तार गर्ने उद्देश्यले बस सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष टीकाराम अधिकारीका अनुसार नयाँ बसमा यात्रुको सहजतालाई ध्यान दिँदै बसभित्रै शौचालय, चिया तथा कफीको सुविधा उपलब्ध हुनेछ । उनले यात्रुहरूले सेवा सञ्चालनबारे निरन्तर चासो राख्दै आएकाले भदौ ३ गतेलाई औपचारिक सेवा प्रारम्भ गर्ने मिति तय गरिएको बताए ।
‘हामीले यात्रुहरूलाई जुन स्तरको सुविधाको आश्वासन दिएका थियौँ, सेवा सुरु भएपछि उहाँहरूले ती सबै सुविधाहरू प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ,‘अध्यक्ष अधिकारीले भने ।
महासंघका अध्यक्ष सिटौलाले पोखराबाट काठमाडौंका लागि सुरु हुन लागेको यो सेवा नेपालमा मात्र नभई एसियाकै उत्कृष्ट पर्यटकीय सवारी सेवामध्ये पर्ने दाबी गरे । प्रतिसवारी करिब २ करोड रुपैयाँ लगानी भएको जानकारी दिँदै उनले लगानीको सुरक्षा र गुणस्तरीय सेवामा विशेष ध्यान दिनुपर्ने बताए ।
सिटौलाले यातायात क्षेत्रलाई अब प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकटिङलाई प्राथमिकतामा राखिएको बताए। यातायात क्षेत्रमा प्रविधिको स्पष्ट कार्यविधि बनाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।
‘अब यात्रीले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था हुनुपर्छ, ‘उनले भने, ‘यस विषयमा सरकारसँग छलफल भइरहेको छ ।’
नयाँ बसका चालकलाई ‘पाइलट’ र सहचालकलाई ‘एयर होस्टेस’ शैलीको पोसाकमा प्रस्तुत गरिएको छ । सिटौलाले यसलाई यातायात क्षेत्रमा नयाँ संस्कारको सुरुवात भएको बताए। उनले पोसाकसँगै यात्रुसँगको व्यवहारमा पनि उच्च व्यावसायिकता र विनम्रता कायम गर्न कर्मचारीलाई आग्रह गरे ।
कार्यक्रममा सिटौलाले कार्यक्षेत्रमा खटिने चालक तथा सहचालकको सुरक्षाका विषयमा राज्य गम्भीर हुनुपर्ने मागसमेत गरे । सडक दुर्घटना वा अन्य विवादका क्रममा चालकलाई हुने भौतिक आक्रमण तथा दुर्व्यवहार रोक्न प्रहरी तथा ट्राफिक प्रहरीसरह चालक वर्गलाई पनि कानुनी सुरक्षा प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
नयाँ सुविधासहितको यातायात सेवाले पोखराको पर्यटन प्रवद्र्धनसँगै यात्रुलाई लामो दूरीको यात्रामा थप आराम र सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया