माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, यस्ता छन् अन्य सूचक

लोकपथ
14
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा १२.३४ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी तथा शुल्क र कमिसनबाट हुने आम्दानीमा भएको वृद्धि मुख्य कारण देखिएको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ थियो ।

त्यस्तै, शुल्क तथा कमिसनबाट हुने आम्दानी १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी पनि बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि, बैंकले कर्जा तथा अन्य सम्भावित नोक्सानीका लागि छुट्याउने रकम भने बढाएको छ । यस्तो रकम अघिल्लो वर्ष ५५ करोड ६७ लाख रुपैयाँ रहेकोमा गत आवमा बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ९३ करोड ६४ लाख रुपैयाँ थियो । बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ । अघिल्लो वर्ष ईपीएस १५ रुपैयाँ ५९ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ ।

गत आवमा बैंकले निक्षेप र कर्जा प्रवाह दुवै बढाएको छ । असार मसान्तसम्म बैंकले २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष बैंकको निक्षेप १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ थियो ।

त्यस्तै, बैंकको कर्जा प्रवाह १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ । बैंकको सीडी रेसियो ७८.४५ प्रतिशत र तरलता अनुपात ३२.९३ प्रतिशत रहेको छ ।

बैंकको खराब कर्जा अनुपात भने सामान्य बढेको छ । अघिल्लो वर्ष ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आवमा ३.९८ प्रतिशत पुगेको छ । बैंकको खुद खराब कर्जा अनुपात १.१४ प्रतिशत रहेको छ ।

बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि रकम बढाएकाले आगामी दिनमा खराब कर्जा व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने देखिन्छ ।

यता, बैंकले स्रोतको लागत घटाउन सफल भएको छ । अघिल्लो वर्ष ४.२३ प्रतिशत रहेको कस्ट अफ फन्ड गत आवमा घटेर ३.२७ प्रतिशतमा झरेको छ । बैंकको आधार दर ५।०४ प्रतिशत र इक्विटीमा प्रतिफल (आरओई) १०.३६ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १५ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?