काठमाडौं । अविरल वर्षाका कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुकी गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।
पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अन्दाजी ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, १८ वर्षीया शान्ति पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।
मृत्यु हुनेहरूमध्ये एक महिला र दुई जना पुरुषको शव प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्युठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ता भएकाहरूको खोजीकार्यको लागि परिचालन भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए ।

सो पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी छ । सो पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । लगातार वर्षाको कारण लेदोसहितको पहिरो आइरहेको हुँदा उद्धार कार्यमा कठिनाइ परेको जनाइएको छ ।
बेपत्ता भएकाहरूमा सोही ठाउँ बस्ने ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् ।
पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन् । उनीहरू दुवै जनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारका लागि बुटवलतर्फ पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया