काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’लाई केन्द्रित गर्दै विभिन्न बैंकहरूले सवारी कर्जामा आकर्षक योजना सार्वजनिक गरेका छन् ।
विशेषगरी विद्युतीय सवारी (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गरी बैंकहरूले कम ब्याजदर, प्रिमियममा छुट, सेवा शुल्कमा सहुलियत तथा छिटो कर्जा स्वीकृतिसहितका योजना ल्याएका हुन् ।
साउन मंगलबारबाट सुरु भएको नाइमा मोबिलिटी एक्सपो आगामी साउन ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ ।
एक्सपोलाई लक्षित गरेर बैंकहरुले आकर्षक कर्जा योजना ल्याएका हुन् भने कतिपय बैंकहरुले कर्जा लिन बैंकमा जानुपर्ने झन्झट समेत हटाएका छन् । बैंकहरुले एक्सपोमा रहेको स्टलमा गएर ग्राहकहरुले लोन अप्लाइ गर्न सक्नेछन् ।
अब हेरौँ कुन बैंकको अफर के छ ?
ग्लोबल आइएमई बैंक
नाइमा एक्स्पोलाई लक्षित गरेर ग्लोबल आईएमई बैंकले व्यक्तिगत गाडी कर्जामा विशेष योजना सार्वजनिक गरेको छ । योजनाअनुसार एक्स्पोबाट नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन् । यसअनुसार हालको आधार दरका आधारमा न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ । आधार दर परिवर्तन भएमा कर्जाको ब्याजदर पनि सोहीअनुसार समायोजन हुनेछ ।
नयाँ ईभी खरिद गर्ने ग्राहकका लागि ग्लोबल आईएमईले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको अर्को योजना पनि ल्याएको छ । तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ ।
एक्स्पोमै बैंकको स्टलबाट कर्जा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवश्यक कागजात पूरा भएका ग्राहकलाई गाडी खरिदका लागि अधिकतम तीन दिनभित्र स्वीकृतिपत्र उपलब्ध गराउने बैंकले जनाएको छ ।
एनएमबी बैंक
यस्तै नाइमालाई लक्षित गरेर एनएमबी बैंकले पनि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ ईभी खरिदका लागि आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने योजना ल्याएको छ । बैंकका अनुसार कर्जा प्रक्रिया सरल र छरितो बनाइएको छ ।
यस्तै सेकेन्ड ह्यान्ड गाडी खरिद गर्ने ग्राहकका लागि भने मूल्यांकन गरिएको रकमको अधिकतम ५५ प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ। यस्तो कर्जाको अधिकतम सीमा ३५ लाख रुपैयाँ तोकिएको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले पनि आकर्षक ब्याजदरमा अटो लोन उपलब्ध गराउने भन्दै योजना सार्वजनिक गरेको छ । नेपाल एसबिआई बैंकको ५.२८ प्रतिशत बेसरेटमा कर्जा उपलब्ध गराउने जनाएको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले नाइमा एक्स्पोलाई लक्षित गर्दै अटो कर्जामा ब्याज प्रिमियम तथा सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । बैंकले सात वर्षसम्मका लागि छिटो र सरल प्रक्रियामार्फत कर्जा उपलब्ध गराउने जनाएको छ ।
प्रभु बैंक
प्रभु बैंकले आधार दरमा ०.५० प्रतिशत मात्र प्रिमियम थप गरी अटो लोन उपलब्ध गराउने योजना ल्याएको छ। बैंकका अनुसार यो योजना उसले यसअघि पनि सञ्चालन गर्दै आएको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले नयाँ सवारीसाधन खरिदका लागि ५.५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । बैंकले यस योजनामा ०.५ प्रतिशत प्रोसेसिङ शुल्क लिने जनाएको छ ।
योजनाअन्तर्गत कर्जाको ब्याजदरमा वार्षिक १ प्रतिशत प्रिमियम कायम गरिनेछ । पछिल्लो समय बैंकहरूको आधार दर घट्दै गएकाले अटो कर्जाको ब्याजदरमा पनि कमी आएको देखिन्छ। केन्द्रीय बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थप गरेर अटो लोनको ब्याजदर निर्धारण गर्न सक्छन् ।
नेपाल बैंक
नेपाल बैंकले न्यूनतम ५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने योजना ल्याएको छ । बैंकले सवारीसाधनको मूल्यको ६० प्रतिशतसम्म फाइनान्सिङ गर्ने जनाएको छ । कर्जाको अवधि पाँचदेखि सात वर्षसम्म रहनेछ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी अटो कर्जाको ब्याजदर निर्धारण गर्ने भएको छ। बैंकले यसलाई न्यूनतम दरका रूपमा अघि सारेको छ ।
मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले नाइमा एक्स्पोलाई लक्षित गर्दै आधार दरमा शून्य प्रतिशत प्रिमियम थप गरी अटो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। हाल यो योजनाअन्तर्गत अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ।
यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । त्यसपछि भने बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ । आवश्यक कागजात तथा कर्जा आवेदन प्रक्रिया पूरा गरेका ग्राहकलाई २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया