काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न थालेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको बैठकमा ग्यासको आपूर्तिदेखि वितरण र ढुवानीसम्मको विवरण अनलाइनमार्फत निगरानी गर्न सकिने प्रणाली निर्माणको काम अघि बढाइएको जानकारी दिइन् ।
उनका अनुसार हाल ग्याससम्बन्धी विवरण सार्वजनिक गर्न गुगल फारम प्रयोग हुँदै आएको छ । ग्यासको उपलब्धता र वितरणसम्बन्धी जानकारीलाई व्यवस्थित तथा पारदर्शी बनाउन नयाँ अनलाइन प्रणाली विकास गर्न लागिएको हो ।
प्रस्तावित प्रणालीमार्फत उपभोक्ताले ग्यासको वास्तविक आपूर्ति अवस्था र वितरणसम्बन्धी जानकारी प्राप्त गर्न सक्ने सरकारको अपेक्षा छ । यसबाट ग्यासको ढुवानी तथा वितरणमा हुने अनियमितता र कृत्रिम अभाव नियन्त्रण गर्न सहयोग पुग्ने जनाइएको छ ।
यसैबीच, सरकारले सिंहदरबार परिसरमा साउन २८ गतेदेखि खाद्य सामग्री बिक्री वितरणका लागि स्टल सञ्चालन गर्ने भएको छ । मन्त्री गौरीकुमारीले समितिको बैठकमा सिंहदरबारबाटै खाद्यान्न बिक्री गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिइन् ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले भने अबको एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन् । उनका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन् ।
निगमका अनुसार साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिइसकेका छन् । ग्यासको आयात पर्याप्त रहेकाले अहिले देखिएको आपूर्ति समस्या छिट्टै समाधान हुने निगमको दाबी छ ।
सरकारले ग्यासको वास्तविक माग, आयात, ढुवानी, डिपोमा रहेको मौज्दात र उपभोक्तासम्मको वितरणलाई एउटै प्रणालीबाट अनुगमन गर्न सके आपूर्ति व्यवस्थापन थप प्रभावकारी हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया