काठमाडौं । प्रहरी महानिरीक्षक ‘आईजीपी ‘ दानबहादुर कार्कीले विद्युतीय तथा वातावरणमैत्री सवारी साधनको प्रयोगसँगै सडक सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारी र वातावरणमैत्री मोबिलिटीका क्षेत्रमा निजी क्षेत्रले देखाएको सक्रियता प्रशंसनीय रहेको बताएका हुन् ।
नेपालजस्तो इन्धन खपत कम गर्नुपर्ने मुलुकका लागि विद्युतीय सवारी साधनको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै कार्कीले नेपाल प्रहरीले पनि वातावरण संरक्षणका लागि विद्युतीय सवारीको प्रयोग क्रमशः विस्तार गर्दै गएको जानकारी दिए ।
उनले नेपालमा सडक दुर्घटनाको अवस्था भयावह रहेको भन्दै सडक सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालभर करिब २९ हजार ९ सय ८८ सडक दुर्घटना भएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३२ प्रतिशत बढी हो ।
नेपालमा दैनिक औसत ८२ वटा सडक दुर्घटना हुने गरेको र त्यस्ता दुर्घटनामा दैनिक करिब १ सय ३० जना घाइते तथा ७ जनाको मृत्यु हुने गरेको उनले बताए । पछिल्लो एक वर्षमा सडक दुर्घटनामा २ हजार ७ सय ७ जनाले ज्यान गुमाएको र ४७ हजार ५ सय ५३ जना घाइते भएको कार्कीले जानकारी दिए ।
‘मोबिलिटी भनेको सवारीको आवागमन मात्र होइन, आर्थिक, सामाजिक र समग्र जीवनलाई चलायमान बनाउने माध्यम हो,’ उनले भने, ‘अबको मोबिलिटी दिगो, वातावरणमैत्री मात्र होइन, सुरक्षित पनि हुनुपर्छ ।’
कार्कीले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायातका लागि राज्य, निजी क्षेत्र तथा नागरिक सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले पुँजी, व्यवसाय, उपभोग र रोजगारीको चक्रलाई चलायमान बनाउन सुरक्षित तथा प्रभावकारी मोबिलिटी आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया