यातायातलाई विलासिता होइन, आधारभूत आवश्यकताका रूपमा हेरौँ : नाइमा अध्यक्ष वैद्य

लोकपथ
0
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को दोस्रो संस्करण आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताइन् ।

एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको नाइमामा अहिले ३६ कम्पनी आबद्ध भइसकेको जानकारी दिँदै अध्यक्ष वैद्यले यसले उद्योगको साझा उद्देश्यप्रतिको विश्वास देखाएको बताइन् ।

उनले यातायात तथा मोबिलिटीलाई केवल विलासिता वा सरकारी राजस्वको स्रोतका रूपमा मात्र हेर्न नहुनेमा जोड दिइन् । यातायात नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी र बजारसम्मको पहुँचसँग जोडिएको आधारभूत आवश्यकता भएकाले ‘सबैका लागि सहज यातायात’ मुख्य लक्ष्य हुनुपर्ने उनको भनाइ छ ।

नेपाल स्वच्छ र दिगो यातायातको भविष्यतर्फ अघि बढिरहेको भन्दै उनले सरकारको हरित अर्थतन्त्रको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताइन् । विद्युतीय सवारीसँगै हाइब्रिड तथा अन्य नयाँ प्रविधिको वर्गीकरण, कर प्रणाली र परीक्षणमा स्पष्टता आवश्यक रहेको उनले उल्लेख गरिन् ।

सरकार र निजी क्षेत्रबीच प्राविधिक बुझाइमा एकरूपता हुनुपर्ने बताउँदै अध्यक्ष वैद्यले लगानीका लागि नीतिगत स्थिरता र पूर्वानुमानयोग्य वातावरण आवश्यक रहेको बताइन् । नयाँ नीति तथा नियम ल्याउनुअघि सरोकारवालासँग अनिवार्य परामर्श गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

नेपालमा सवारीसाधन एसेम्बली तथा सहायक उद्योगको प्रवद्र्धनका लागि दीर्घकालीन रणनीतिक खाका आवश्यक रहेको उनको भनाइ छ । ब्याट्री रिसाइक्लिङ नीति, इथानोल ब्लेन्डिङको सम्भाव्यता र अत्याधुनिक सवारी परीक्षण केन्द्र स्थापनाका लागि सरकारसँग सहकार्य गर्न नाइमा तयार रहेको उनले जानकारी दिइन् ।

६ दिनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । एक्स्पोमा ४० वटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रदर्शनीसँगै ‘मोबिलिटी संवाद’ कार्यक्रममार्फत वैदेशिक लगानी, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, ब्याट्री रिसाइक्लिङ र उद्यमशीलतालगायत विषयमा विज्ञहरूबीच छलफलसमेत हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?