काठमाडौं । सामाजिक सञ्जालको प्रयोग बढेसँगै अनलाइन ठगीका नयाँ–नयाँ शैली सक्रिय भइरहेका बेला कास्कीमा फेसबुकबाट सुरु भएको ‘प्रेम सम्बन्ध’को जालोमा पारेर एक महिलाबाट ३१ लाख रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती महिलासँग फेसबुकमार्फत बेलायतको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक अपरिचित व्यक्तिले सम्पर्क गरेका थिए । आफू अविवाहित रहेको र बेलायतमा प्रशस्त सम्पत्ति रहेको दाबी गर्दै उनले ती महिलासँग मित्रता बढाएका थिए ।
कुराकानीका क्रममा ती व्यक्तिले आफू बेलायतको सम्पत्ति बेचेर नेपाल आउन लागेको र नेपालमै घरजग्गा किनेर महिलासँगै जीवन बिताउने आश्वासन दिएका थिए । महिलालाई विश्वास दिलाउन उनले विमानस्थलका भिडियो पठाउने तथा भिडियो कलसमेत गर्ने गरेका थिए ।
केही समयपछि आफू भारत हुँदै नेपाल आउन लागेको भन्दै उनले महिलालाई जानकारी दिए । त्यसलगत्तै भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर राखिएको अर्को ह्वाट्सएप नम्बरबाट महिलालाई फोन आयो ।
फोन गर्ने व्यक्तिले महिलाका ‘साथी’ ठूलो परिमाणमा नगद तथा सम्पत्तिसहित पक्राउ परेको र उनलाई छुटाउन भन्सार तथा जरिवानाबापत रकम तिर्नुपर्ने बताएका थिए ।
आफ्नो भावी श्रीमान् समस्यामा परेको ठानेर महिलाले सुरुमा पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन् । त्यसपछि आफू ठगीमा परेको आशंका लागेपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगिन् ।
प्रहरीले अनुसन्धानपछि घटना ठगी भएको पुष्टि गर्दै थप रकम नपठाउन महिलालाई सचेत गराएको थियो । तर ठगले भावनात्मक रूपमा प्रभावित बनाएपछि प्रहरीको चेतावनीका बाबजुद उनले पुनः २२ लाख रुपैयाँ पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती व्यक्तिले ‘म अब निस्कन लागेँ, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भन्दै महिलालाई भावनात्मक दबाब दिएका थिए ।
अन्ततः ३१ लाख रुपैयाँ गुमाएपछि तथा भारतीय प्रहरीसँगको समन्वयमा उक्त व्यक्ति आपराधिक गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि मात्र महिलाले आफू ठगीमा परेको स्वीकार गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र पासवानले यो घटना अनलाइन ठगीका विभिन्न शैलीमध्ये एउटा प्रतिनिधिमूलक उदाहरण मात्र भएको बताएका छन् ।
उनका अनुसार पछिल्लो समय फेसबुक तथा टिकटकमा सस्तो सामानको विज्ञापन राखेर ठगी गर्ने, अर्डर गरेपछि ‘पैसा आएन’ भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपीमार्फत बैंक खाताबाट रकम निकाल्ने प्रवृत्ति बढेको छ ।
त्यस्तै, नजिकका साथी वा आफन्तको फेसबुक तथा ह्वाट्सएप ह्याक गरी ‘म समस्यामा छु, तत्काल पैसा पठाइदिनू’ भन्दै रकम माग्ने, आकर्षक देशमा रोजगारी वा अध्ययनको प्रलोभन देखाएर नक्कली कागजात बनाउने र प्रोसेसिङका नाममा रकम असुल्ने गिरोह पनि सक्रिय रहेको प्रहरीले जनाएको छ ।
बैंक, ई–सेवा तथा खल्तीजस्ता संस्थाका कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ओटीपी माग्ने तथा खाताबाट रकम स्थानान्तरण गर्ने घटना पनि बढिरहेका छन् । सुरुमा सानो रकमको दोब्बर फिर्ता दिएर विश्वास जित्ने र पछि ठूलो रकम लिएर सम्पर्कविहीन हुने अनलाइन बेटिङ तथा नक्कली लगानीका योजनामार्फत समेत ठगी भइरहेको प्रहरीको भनाइ छ ।
सूचना अधिकारी पासवानले अनलाइन ठगीबाट जोगिन विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
‘कुनै पनि अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा दिएको प्रलोभनमा नपर्नुस् । थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासन ठगीको पहिलो संकेत हो,’ उनले भने।
प्रहरीले बैंक खाताको विवरण, पिन नम्बर तथा ओटीपी कसैलाई पनि नदिन, शंकास्पद लिङ्क नखोल्न, अनधिकृत एप डाउनलोड नगर्न तथा अनलाइन कारोबार गर्नुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता यकिन गर्न आग्रह गरेको छ ।
ठगी भएको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत कास्की प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया