कालिकोट । पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा चिकित्सक, नर्स तथा कर्मचारीमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पलाँता–९ थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीया मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार उनीहरूलाई शुक्रबार राति नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार सुशील र मैना बमले शुक्रबार दिउँसो अस्पतालका मेडिकल अधिकृत डा. अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए ।
त्यसपछि राति तपेन्द्र बम अस्पतालमा प्रवेश गरी अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पङ्खा, अस्पतालका झ्याल, फार्मेसीमा औषधि राखिएका दराज तथा र्याकलगायतमा क्षति पुगेको छ ।
अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयमा विवाद भएपछि चिकित्सक र नर्समाथि कुटपिट भएको र सोही घटनालाई लिएर राति अस्पतालमा आक्रमण तथा तोडफोड भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न एक बालकलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया