काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनका लागि प्रयोग हुने विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयको विरोध गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले यस्तो निर्णय जनविरोधी भएको बताएका छन् । उनका अनुसार सिँचाइको विद्युत् महसुल यसअघि प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको थियो । त्यस्तै, सामुदायिक खानेपानी लिफ्टिङको महसुल पनि प्रतियुनिट ९ रुपैयाँबाट घटाएर ४ रुपैयाँ २० पैसा बनाइएको थियो ।
कृषि सिँचाइमा विद्युत् निःशुल्क गर्नुपर्ने अवस्थामा उल्टै १३ प्रतिशत भ्याट लगाउनु दुःखद भएको घिसिङको भनाइ छ । उनले सिँचाइ र खानेपानीजस्ता अत्यावश्यक सेवामा सरकारले सहुलियत दिनुपर्ने बताएका छन् ।
नेपालमा ग्यासको अभाव भइरहेको बेला सरकारले इन्डक्सन चुल्होको प्रयोग बढाउनुपर्ने घिसिङले बताए । उनका अनुसार सरकारले ग्यास सिलिन्डरको सट्टा नागरिकलाई इन्डक्सन चुल्हो उपलब्ध गराउने योजना ल्याउनुपर्छ ।
‘देशमा उत्पादन भएको विद्युत् खेर फाल्ने अनि ग्यासका लागि लाइन लगाउने कस्तो विडम्बना हो ?’ उनले प्रश्न गरेका छन् ।
घिसिङले सामान्य नागरिक र किसानलाई थप करको भार पार्नुभन्दा ठूला उद्योगीबाट डेडिकेटेड र ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता उठाउन सरकार लाग्नुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया