इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन : राजेन्द्र लिङ्देन

लोकपथ
7
Shares
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् ।

शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्तालाई आग्रह गरे ।

पार्टी र देशको सेवामा समर्पित हुन चाहने कुनै पनि व्यक्तिले अवसर नपाउने हो कि भनेर डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । उनले सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लिङ्देनले पार्टीभित्रका अन्तरसंघर्ष वा विगतका मतभेदका कारण कोही पनि त्रसित हुनुपर्ने अवस्था नरहेको बताए । आफू सबैको अभिभावकका रूपमा काम गर्ने उल्लेख गर्दै उनले जिम्मेवारी लिएर काम नगर्ने र संकटका बेला पछि हट्नेहरूलाई भने पार्टीमा स्थान नहुने स्पष्ट पारे ।

‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिनँ कि भनेर डराउनु पर्दैन,’ उनले भने, ‘सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु ।’

उनले काम गर्ने कार्यकर्ताका लागि पार्टीमा पूर्ण अवसर रहेको तर पद मात्र ओगट्ने र संकटका बेला पछि हट्नेहरूलाई पार्टीबाट बिदा गरिने चेतावनी दिए ।

लिङ्देनले कार्यकर्तालाई पहिले आफ्नै परिवारका सदस्यलाई राप्रपामा आबद्ध गराउन आग्रह गरे । आफ्नै परिवारले विश्वास नगरेको व्यक्तिलाई छिमेकी र समाजले पनि विश्वास नगर्ने उनको भनाइ थियो ।

राप्रपाले संगठन सुदृढीकरणका लागि सक्रिय सदस्यता अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै उनले कार्यकर्तालाई अभियानमा तत्काल केन्द्रित हुन निर्देशन दिए ।

उनले योजनाबद्ध रूपमा नातागोता, छरछिमेक हुँदै संगठन विस्तारमा लाग्न आग्रह गर्दै निकट भविष्यमा राप्रपामा जनलहर आउने दाबी गरे । इमान्दारीपूर्वक वडा जिताउने र पार्टीको जिम्मेवारी बहन गर्ने संकल्पका साथ अघि बढ्न पनि उनले कार्यकर्तालाई हौसला दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?