सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँ : उपसभापति शर्मा

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको पछिल्लो आदेशले पार्टीको आन्तरिक विवादसम्बन्धी वैशाख ४ गतेको फैसला नउल्ट्याएको स्पष्ट पारेका छन् ।

निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकसमेत सर्वोच्चको पछिल्लो आदेशले बदर नगरेको उनले बताएका छन् । शर्माले अदालतको पछिल्लो प्रक्रियालाई स्वाभाविक रूपमा लिएको बताए ।

उनका अनुसार नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग फैसला बाझिएमा आफ्नै फैसला पुनरावलोकन गर्ने स्थापित कानुनी व्यवस्था छ । तर, अहिलेको प्रकरणमा त्यस्तो नयाँ तथ्य वा नजिरसँग बाझिने अवस्था आफूहरूले नदेखेको शर्माको दाबी छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम महाधिवेशनपछि विवरण अध्यावधिक गर्ने क्रममा निवेदन दिने पक्षको छुट्टै सुनुवाइ गर्ने परम्परा नरहेको उनले स्पष्ट पारे ।

‘हिजोको आदेशले पुनरावलोकनको ढोका मात्र खोलेको हो,’ शर्माले भने, ‘निर्वाचन आयोगले अध्यावधिक गर्दा निवेदन दिने पक्षको सुनुवाइ नगरेको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिइएको देखिन्छ ।’

यो विषय दल विभाजनसम्बन्धी मुद्दा नभएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ आकर्षित नहुने उनको भनाइ छ । निर्वाचन आयोगले संविधान र कानुनबमोजिम अधिवेशन भए–नभएको विषय मात्र हेर्ने शर्माले बताए ।

नेपाली कांग्रेसको विधानको दफा १७ ९२० बमोजिम विशेष महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गरी नेतृत्व र विधान परिमार्जनको जानकारी आयोगलाई गराइएको उनले बताए ।

विशेष महाधिवेशनपछि तत्कालीन कार्यवाहक सभापतिसहितको टोली निर्वाचन आयोग पुगेर आफ्ना तर्क राखिसकेकाले त्यसलाई एक प्रकारको सुनुवाइ मान्न सकिने शर्माको भनाइ छ । सर्वोच्च अदालतमा समेत लामो समय बहस र सुनुवाइपछि वैशाख ४ गते फैसला आएकाले ‘सुनुवाइको मौका नदिइएको’ भन्ने तर्क उचित नभएको उनले बताए ।

पार्टी अहिले १५औँ महाधिवेशनको संघारमा रहेको उल्लेख गर्दै शर्माले राजनीतिक दलका आन्तरिक विवाद मूलतः निर्वाचन आयोगबाटै निरूपण हुनु उपयुक्त हुने धारणा राखे ।

‘अदालतको आदेश र व्याख्यालाई हामी सम्मान गर्छौं । पुनरावलोकनको प्रक्रियामा हामी विशेष महाधिवेशनका वैधानिक र राजनीतिक तथ्यहरू पुनः केस्रा–केस्रा केलाएर राख्नेछौँ,’ उनले भने, ‘यसलाई हामीले तथ्य स्थापित गर्ने अर्को अवसरका रूपमा लिएका छौँ ।’

नेपाली कांग्रेसले सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्दै विधान र संविधानको परिधिभित्र रहेर अघि बढ्ने प्रतिबद्धता पनि शर्माले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?