सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त छ : सचेतक राई

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पहिचानको नाममा समाजलाई विभाजित गर्ने र द्वन्द्वतर्फ धकेल्ने प्रयासप्रति सतर्क रहन आग्रह गरे । पहिचानको अधिकारको रक्षा गर्नुपर्ने भए पनि अरूको पहिचानप्रति पनि समान सम्मान हुनुपर्ने उनको भनाइ थियो ।

राईले लोकतन्त्र स्थापनाका लागि प्रथम शहीद लखन थापादेखि इलामको सात खाल्डेका शहीदहरूसम्मले पुर्‍याएको योगदानको स्मरण गर्दै बहुजातीय र बहुसांस्कृतिक एकता नै नेपालको विशेषता भएको बताए । आफू सामान्य किसान परिवारमा जन्मिएर विभिन्न समुदायको संस्कार र संस्कृतिमा हुर्किएको उल्लेख गर्दै उनले जन्मले होइन, विचार र चिन्तनले आफू कांग्रेस बनेको बताए ।

आदिवासी जनजातिको पहिचानको पक्षमा पार्टी र राज्यका हरेक तहमा लड्ने प्रतिबद्धता जनाउँदै उनले पहिचानको आन्दोलनले अरूको अस्तित्वलाई अस्वीकार गर्न नहुने धारणा राखे । पछिल्लो समय पहिचानको नाममा भावनात्मक उत्तेजना फैलाएर द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरे ।

कतिपय शक्तिले इतिहास र पहिचानलाई आधार बनाएर पार्टी प्रवेश गराउने होड चलाएको उल्लेख गर्दै उनले त्यसले समाजमा द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिए। पहिचानको सम्मान र सामाजिक सद्भाव दुवै कायम रहने कांग्रेसको मार्गलाई आत्मसात गर्न उनले सबैलाई आह्वान गरे ।

कांग्रेसको आन्तरिक रूपान्तरणबारे बोल्दै राईले पार्टीको कार्यशैलीमा परिवर्तन आएको दाबी गरे । साथै, बजारमा बढ्दो महँगी र ग्यासलगायत अत्यावश्यक वस्तुको अभावका बेला सरकार जनताप्रति संवेदनशील बन्न नसकेको आरोप लगाए ।

सरकार जनसरोकारका विषयभन्दा अन्य गतिविधिमा केन्द्रित भएको टिप्पणी गर्दै उनले कार्यकर्ताहरूलाई सदन र सामाजिक सञ्जालमार्फत सरकारलाई निरन्तर खबरदारी गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?