काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका मुख्य सडक र राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र बाढीको जोखिमका कारण धेरै सडकमा यातायात प्रभावित भएको जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन चलाउन रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ ।
यस्तै, कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ ।
इलामको मेची राजमार्गमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा रोकिएको छ । त्यहाँ वैकल्पिक सडकबाट सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिँदा अरनिको राजमार्गका केही भाग पूर्ण रूपमा बन्द भएका छन् ।
दोलखाको किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु–रामेछाप सडकखण्ड अवरुद्ध भएको छ । त्यस क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको भेरी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम सडक पनि पहिरोका कारण बन्द छन् ।
म्याग्दीमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात अवरुद्ध भएको छ। गुल्मीको मदन भण्डारी सडकखण्डमा पनि सुक्खा पहिरो खसेपछि सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया