निर्मला प्रकरणमा न्यायको प्रश्न उठ्दा गृहमन्त्रीको प्रतिप्रश्न : तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?

लोकपथ
42
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले सरकारले हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान निरन्तर गरिरहेको उल्लेख गर्दै निर्मला पन्त प्रकरणमा पनि अनुसन्धान जारी रहेको बताएका हुन् ।

प्रश्नोत्तरका क्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लामो समय बितिसक्दा पनि दोषी पहिचान गरी न्याय दिलाउन नसक्नुको कारणबारे सरकारसँग प्रश्न गरेका थिए । उनले यो राज्य संयन्त्रको असक्षमता हो वा दोषीमाथि कारबाही गर्न नचाहेको हो भन्ने जिज्ञासा समेत राखेका थिए ।

जवाफमा गृहमन्त्री गुरुङले प्रतिप्रश्न गर्दै, ‘तपाईंहरू सत्तामा हुँदा किन अनुसन्धान टुंग्याउन सक्नुभएन ?’ भन्दै पूर्ववर्ती सरकारको भूमिकामाथि प्रश्न उठाए ।

उनले सरकारले शान्ति–सुरक्षा कायम राख्ने दायित्वअनुसार सबै गम्भीर अपराधको अनुसन्धान क्रमबद्ध रूपमा अघि बढाइरहेको बताए । निर्मला पन्तको घटना अत्यन्त संवेदनशील भएकाले अनुसन्धानलाई प्रभावित हुने गरी सार्वजनिक रूपमा धेरै टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।

गृहमन्त्री गुरुङले पीडित परिवारलाई थप पीडा नपुग्ने गरी यस विषयमा संवेदनशील ढंगले प्रस्तुत हुन आग्रह गर्दै निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान सूक्ष्म रूपमा भइरहेको बताए । साथै, यस्ता संवेदनशील विषयलाई संसदमा बारम्बार उठाउनुभन्दा आवश्यक परे व्यक्तिगत रूपमा जानकारी लिन सांसदहरूलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?