धवल शमशेरको आरोप– ‘राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो’

लोकपथ
21
Shares

काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा.धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको मूल एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा नवगठित जय नेपाल पार्टीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राप्रपाले राजा र हिन्दु धर्मको नाममा भोट संकलन गरे पनि जनताले अवसर दिँदा आफ्ना एजेण्डा कार्यान्वयन गर्न नसकेको दाबी गरे ।

उनले राप्रपाको नेतृत्वले व्यक्तिगत स्वार्थका कारण पार्टीका मूल एजेण्डालाई तिलाञ्जली दिएको आरोप लगाउँदै राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा जोगाउन आफूहरू नयाँ राजनीतिक यात्रामा निस्किएको बताए ।

अध्यक्ष जबराले विगतको निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुनु जनताले राजतन्त्र वा हिन्दु राष्ट्रको अवधारणालाई नभई राप्रपाको गतिविधिलाई अस्वीकार गरेको संकेत भएको दाबी गरे ।

उनका अनुसार निर्वाचन परिणामपछि राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा समाप्त भएको भन्ने भाष्य निर्माण हुन थालेपछि त्यसलाई जोगाउने उद्देश्यले जय नेपाल पार्टी स्थापना गरिएको हो ।

जबराले नेपाली जनताले हिन्दु अधिराज्य वा राजासहितको प्रजातन्त्रको अवधारणालाई ननकारेको, बरु राप्रपाको कार्यशैलीप्रति असन्तुष्टि जनाएकै कारण अपेक्षित मत नआएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?