उद्योगमन्त्रीको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टीम गठन

लोकपथ
7
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा एलपीजी ग्यासको अभाव हुन नदिन निर्देशन दिएपछि नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम गठन गरेको छ ।

निगमका अनुसार टोलीले बुधबारदेखि नै काम सुरु गरेको छ । ग्यास आपूर्तिमा समस्या देखिए तुरुन्त समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित टोली बनाइएको हो ।

टोलीमा उद्योग मन्त्रालयका मङ्गल बिष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् ।

यो टोलीको मुख्य काम देशका कुनै पनि स्थानमा ग्यासको अभाव वा वितरणमा समस्या भए तत्काल सम्बन्धित पक्षसँग समन्वय गरेर समाधान गर्नु हो ।

नेपाल आयल निगमको हटलाइनमा आउने गुनासोका आधारमा उद्योग, डिलर र व्यवसायीसँग समन्वय गरी उपभोक्तासम्म ग्यास सहज रूपमा पुर्‍याइने निगमले जनाएको छ ।

पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि यस्तो टोली गठन गरिएको निगमको भनाइ छ ।

ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या परे उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् । उक्त नम्बरमा आएको गुनासोमाथि क्विक रेस्पोन्स टिमले तत्काल आवश्यक पहल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?