बाटो खोल्दा सेनासँग भएको विवादबारे बोले राजु पाण्डे

लोकपथ
931
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा नेपाली सेनाका एक अधिकारीसँग भएको विवादबारे स्पष्टीकरण दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत माकलबारी नजिकै सडक चौडा पार्ने क्रममा विवाद सिर्जना भएको थियो ।

नेपाली सेनाका एक अधिकारीले आफूलाई माथिको आदेश चाहिने भन्दै तत्काल डोजर नचलाउन भने । तर पाण्डेले आफूले अनुमति लिएर आएको र कानुनबारे जानकारी भएको भन्दै डोजर नरोकिने भन्दै आक्रोश व्यक्त गरेका थिए । उक्त भिडियोबारे सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि पाण्डेले नेपाली सेनासँगको सहकार्यमा नै त्यहाँ सडक चौडा बनाउने काम सम्पन्न भएको बताए ।

‘सम्बन्धित नेपाली सेनाको टुकडीलाई आवश्यक जानकारी पुग्न केही मिनेटको ढिलाइ भएको कारण प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको थियो । तर तत्पश्चात नेपाली सेनाका प्रमुख सेनानीज्यूसँग आपसी समन्वय र छलफल सम्पन्न भई नेपाली सेनाको पूर्ण सहयोग र सहकार्यमा उक्त सडक विस्तारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराउँदछु,’ पाण्डेले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

त्यस्तै पाण्डेले नेपाली सेनाको भूमिकाप्रति जानकार रहेको र आफ्नो सम्मान सधैँ रहने स्पष्ट पारेका छन् ।

उनले भनेका छन् :

काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ३, गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित माकलबारी बस स्ट्यान्डदेखि देशे जाने सडकअन्तर्गत नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक चौडा गर्ने उद्देश्यले पर्खाल हटाउने क्रममा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका विषयमा मेरो ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम, नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्को प्रत्येक चुनौतीपूर्ण परिस्थितिमा सदैव अग्रपङ्क्तिमा रही अतुलनीय योगदान पुर्‍याउँदै आएको संस्था हो । नेपाली सेनाको गौरवशाली इतिहास, अनुशासन, राष्ट्रप्रतिको समर्पण तथा नागरिक सर्वोच्चताको सम्मानप्रति म पूर्ण विश्वास व्यक्त गर्दै नेपाली सेनाप्रति सदैव उच्च सम्मान प्रकट गर्दछु ।

उक्त कार्य सम्पन्न गर्ने क्रममा सम्बन्धित नेपाली सेनाको टुकडीलाई आवश्यक जानकारी पुग्न केही मिनेटको ढिलाइ भएको कारण प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको थियो । तर तत्पश्चात नेपाली सेनाका प्रमुख सेनानीज्यूसँग आपसी समन्वय र छलफल सम्पन्न भई नेपाली सेनाको पूर्ण सहयोग र सहकार्यमा उक्त सडक विस्तारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराउँदछु ।

उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

तसर्थ, वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यमा फरक निष्कर्ष प्रस्तुत गर्ने कार्यबाट सबैमा संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु ।

राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेना लगायत सबै राज्य संयन्त्रहरूको सहकार्य, आपसी सम्मान र समन्वय नै हाम्रो प्रमुख प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?