काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित पूर्वी मधेसमा भएको धार्मिक तनावबारे निष्पक्ष छानबिन गरी सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरे । साथै, सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी अफवाह फैलाउने व्यक्तिमाथि पनि कडा कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
राईले कुनै पनि धर्मलाई शंकाको घेरामा नराख्न सरकारलाई आग्रह गर्दै खुला, पारदर्शी र सबै पक्षप्रति सहयोगी बन्नुपर्ने आवश्यकता औँल्याए ।
सुनसरी घटनापछि सरकार र आन्दोलनरत एक पक्षबीच भएको १३ बुँदे सहमतिप्रति प्रश्न उठाउँदै उनले धर्म, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित संवेदनशील विषयमा कुनै एक पक्षसँग मात्र सहमति गरेर समाधान खोज्दा अर्को पक्षले आफू उपेक्षित वा असुरक्षित महसुस गर्न सक्ने बताए ।
उनले सरकारले यस्ता विषयमा सबै नागरिकको साझा अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । शान्ति स्थापना भनेको कर्फ्यु हटाउनु वा सडक खोल्नु मात्र नभई नागरिकको मनबाट डर हटाउनु, न्यायप्रति विश्वास जगाउनु र समुदायबीच आपसी विश्वास कायम गर्नु पनि रहेको उनको भनाइ थियो ।
राईले धर्मका नाममा हुने द्वन्द्वले अन्ततः कुनै पनि धर्मलाई विजयी नबनाई मानवतालाई नै पराजित गर्ने इतिहास रहेको स्मरण गराउँदै सुनसरी घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरे । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारलाई निष्पक्ष, समावेशी र संवेदनशील ढंगले समस्या समाधान गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया