काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता, पूर्वसांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादवले सुनसरीको देवानगञ्ज घटनालाई लिएर माइतीघर मण्डलामा जारी आमरण अनशनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते राति भएको हिंसात्मक घटनाको विरोधमा काठमाडौंको माइतीघरमा आमरण अनशन सुरु गरेका छन् ।

उक्त घटनाको समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गर्दै पूर्वमन्त्री यादवले वार्ता र निष्पक्ष छानबिनमा जोड दिएका हुन् ।
साउन १८ गते जारी ध्यानाकर्षण तथा सुझाव वक्तव्यमार्फत यादवले तराई–मधेसका विभिन्न जिल्लामा सामाजिक सद्भाव, शान्ति र सुरक्षाको अवस्था कायम राख्न सरकारले उच्च संवेदनशीलताका साथ काम गर्नुपर्ने बताएका छन् ।
‘समस्याको समाधान अशान्ति र भिडन्तबाट हुन सक्दैन। सरकारले तत्काल वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण निकास खोज्नुपर्छ,‘यादवले भनेका छन् ।
उनले सरकारसँग माइतीघरमा अनशनरत पक्षसँग तत्काल वार्ता सुरु गर्न, देवानगञ्ज घटनाको स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् । साथै, पीडितलाई न्यायको अनुभूति हुने गरी आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वमन्त्री यादवले तराई–मधेसमा सामाजिक सद्भाव, शान्ति र अमनचयन कायम राख्न राजनीतिक दल, नागरिक समाज तथा सबै सरोकारवाला पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिलसमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया