काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ए वान पोलीमार एण्ड वेभरेज प्रालि र जय शम्भु डेरी उद्योगमा अनुगमनपश्चात कारबाही गरेको छ ।
विभागमा आएको गुनासो र उजुरीपछि गरिएको अनुगमनमा कैफियत भेटिएपछि दुवै व्यवसायलाई कारबाही र आवश्यक निर्देशन दिइएको हो ।
भक्तपुरको भक्तपुर नगरपालिका–८ लिवालीमा रहेको जय शम्भु डेरी उद्योग प्रालिमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा डेरीको सरसफाइ सामान्य रहेको, चिस्यानमा दही भण्डारण गरेर राखिएको तथा प्रयोगशाला परीक्षणका लागि दुधको नमुना संकलन गरिएको थियो । गत साउन १५ गते नमुना संकलन गरिएको दुध विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माले जानकारी दिइन् ।
शर्माका अनुसार फ्याट २ दशमलव ४ प्रतिशत तथा एसएनएफ ७ दशमलव ८ प्रतिशत पाइएकाले ४ हजार लिटर दुध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहोवरमा नष्ट गरिएको छ ।
यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा रहेको ए वान पोलीमार एण्ड वेभरेज प्रालिमा समेत विभागले छापा मारेको थियो । सो क्रममा उद्योगको टायल टुटेफुटेको अवस्थामा रहेको, उद्योगको बाह्य अवस्था अव्यस्थित, सरसफाइ सामान्य रहेको र कर्मचारीहरुको सरसफाइको अवस्था समेत सन्तोषजनक रहेको पाइएको थियो ।
विभागले नियमित सरसफाइ गर्न, व्यक्तिगत सरसफाइमा ध्यान निर्देशन दिएको छ । साथै थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरिएको शर्माले बताइन् ।
विभागले पछिल्लो समय काठमाडौं उपत्यकामा उपभोक्ताको गुनासो र उजुरीपछि बजार अनुगमनलाई तिव्रता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया