पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक, यातायात सञ्चालन प्रभावित

लोकपथ
14
Shares

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा सोमबार दिउँसो सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार पहिरो हटाउने क्रममा थप पहिरो खस्दा सडक खुलाउन प्रयोग गरिएको एक्साभेटरसमेत पुरिएको छ ।

उनले ठूलो परिमाणमा पहिरो गएकोले सडक खुलाउन केही समय लाग्ने बताए । हाल पहिरो पन्छाउने कार्य जारी रहे पनि सडक सञ्चालनको समय भने यकिन भइसकेको छैन ।

यसअघि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम सडकखण्डमा आइतबार र सोमबार साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिएको थियो ।

बेनी–जोमसोम सडक मुस्ताङ जाने मुख्य मार्ग हो । यही सडक हुँदै सयौँ आन्तरिक तथा बाह्य पर्यटक मुक्तिनाथ र कोरला नाकासम्म यात्रा गर्ने भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा यातायात सेवा प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?