श्रृंखलाबद्ध चोरीमा संलग्न ‘कर्मा ग्याङ’ : चोर्ने बित्तिकै नम्बर प्लेट ‘चेन्ज’, सदस्यलाई फरकफरक जिम्मेवारी

चोरीकै पृष्ठभूमी भएको कर्मा ग्याङ, महिला र वृद्धवृद्धा टार्गेटमा

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्दै आएको ‘कर्मा समूह’ लाई प्रहरीले पक्राउ गरी सार्नजनिक गरेको छ ।

शनिबार राति प्रहरीले बुढानिलकण्ठको भाइरल रोडमा उक्त समूहका नाइके कर्मालाई गोली प्रहार गरी पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई काठमाडौंको बौद्ध बस्दै आएका ३४ वर्षीय कर्मालाई पक्राउ गर्न प्रहरी बुढानिलकण्ठ पुगेको थियो । तर उनले प्रहरुीमाथि नै जाइलागेपछि २ राउण्ड हवाइ फायर र एक राउण्ड कर्मामाथि प्रहार गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार नियन्त्रणमा लिन खोज्दा तामाङले आफूसँग रहेको खुकुरी निकालेर प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेका थिए । प्रहरीले दुई राउन्ड हवाई फायर गरे पनि उनी आक्रमणको प्रयास गर्दै मोटरसाइकलमा भाग्न खोजेपछि घुँडामुनि एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो । गोली प्रहारबाट घाइते कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

पाँच जना पक्राउ र उनीहरुको प्रोफाइलिङ

त्यसो त प्रहरीले कर्मासहित ५ जनालाई नियन्त्रणमा लिएको छ । आज जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार पक्राउ पर्नेमा ३० वर्षीय प्रतिमान गोले, ३० वर्षीय पासाङ घिसिङ, २९ वर्षीय आले गुरुङ, ३६ वर्षीय मनोज तामाङ र ३४ वर्षीय कर्मा तामाङ रहेकन छन् ।

पक्राउ परेकामध्ये प्रतिमान गोले लुटपाटका क्रममा मोटरसाइकल चालक (राइडर) को भूमिकामा रहने गरेका थिए । उनी डाँका चोरी मुद्दामा नख्खु कारागारमा कैद सजाय भुक्तान गरी छुटेको तीन साता मात्र भएको घिमिरेले बताए ।

यता पक्राउ परेका पासाङको धन्दा भने काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीमा सक्रिय रहने गरेको देखिन्छ । प्रहरीका अनुसार पासाङले काठमाडौंका विभिन्न स्थानबाट हालसम्म २० वटा भन्दा बढी मोटरसाइकल चोरीमा संलग्नता खुलेको छ । एसएसपी घिमिरेका अनुसार पासाङविरुद्ध २०७९ साल भदौ महिनाको १५ दिनमा मात्रै ४ वटा घटनाको मुद्दा दर्ता भएको थियो ।

एसएसपी घिमिरेका अनुसार पक्राउ परेका आले गुरुङलाई भने कर्मा समूहले घटनास्थलको निगरानी गर्ने कामको जिम्मेवारी दिने गरेको थियो । आलेले घटनास्थल वरिपरि सक्रिय रुपमा स्ट्यानबाइ रहने र सर्वसाधारणमाथि बल प्रयोग गर्ने काम गर्दथे ।

कर्मा ग्याङका अर्का सदस्य हुन् पक्राउ परेका मनोज तामाङ । काभ्रेको भुम्ल गाउँपालिका–९ घर भइ बनेपामा सुनपसल गर्दै आएका मनोजले उक्त समूहले लुटपाट गरी ल्याएको गरगहना गालेर स्वरुप परिवर्तन गरी बिक्री गर्ने गरेका थिए ।

उक्त समूहका नाइके कर्माको सीआरएस रिपोर्ट अनुसार चोरी डकैतीको पृष्ठभूमी देखिन्छ ।

चोरी केसमा पक्राउ परेका उनी प्रहरी बृत्त स्वयम्भूको हिरासतबाट फरार भइ काठमाडौंका विभिन्न स्थानमा चोरी तथा सिक्री लुटपाटमा संलग्न रहने गरेको प्रहरीको भनाइ छ ।

लुटपाटका लागि चोरीका मोटरसाइकल र फर्जी नम्बर प्लेट

प्रहरी अनुसन्धानबाट कर्मा समूहले मुख्यगरी दुई वटा मोटरसाइकल चोरीका लागि प्रयोग गर्ने गरेका थिए । एउटा मोटरसाइकल अगाडी गएर रेखी गर्ने र अर्को मोटरसाइकलले घटना घटाउने गरेको प्रहरीले जनाएको छ ।

२२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी त्यसमा तत्कालै फर्जी नम्बर प्लेट प्रयोेग गरी सुनका सिक्री तथा गरगहना लुटपाटमा प्रयोग गर्ने गरेको समेत खुलेको छ ।

प्रहरीका अनुसार लुटपाटमा प्रयोग भएको मोटरसाइकलको नम्बर प्लेट र स्वरुप परिवर्तन गरी काठमाडौं उपत्यका बाहिर बिक्री गर्ने गरेका थिए ।

समूहले विशेषगरी महिला तथा वृद्धाहरूको गतिविधि र आवतजावत निगरानी गरी उनीहरूलाई लक्षित गर्ने गरेको पाइएको छ । प्रतिकार गर्न खोज्ने पीडितलाई घाँटी थिच्ने, लछारपछार गर्ने तथा कुटपिट गरी घाइते बनाउने गरेको सीसीटिभी फुटेजमा देखिन्छ ।

श्रुंखलाबद्ध चोरीमा संलग्न कर्मा समूह

प्रहरीका अनुसार कर्मा समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिरियल रुपमा सिक्री लुटपाट गर्ने गरेको खुल्न आएको छ । गत असार १३ गते बिहान शान्तिनगरमा उनकै समूहले साढे २ तोलाको सुनको सिक्री लुटपाट गर्‍यो । मोटरसाइलमा गएका उनीहरुले बाटो सोध्ने बहानामा एकले पीडितलाई लडायो र लछारपछार गर्‍यो, भने अर्कोले ती व्यक्तिको सुनको सिक्री चोरेर फरार भएको प्रहरीको भनाइ छ ।

त्यसैगरी, असार १५ गते नरेफाँट निलोपुल नजिक जडीबुटी जाने बाटो सोध्ने बहानामा एक व्यक्तिको तीन तोलाको सुनको सिक्री लुटिएको थियो, त्यसमा पनि सोही समूहको हात थियो । सोही दिन काभ्रेको बनेपामा दूध लिन जाँदै गरेकी एक व्यक्तिलाई पछाडिबाट मुख छोपेर, घाँटी समाती लछारपछार तथा कुटपिट गरी करिब एक तोला २० लालको सुनको सिक्री लुटिएको थियो ।

गत साउन ७ गते धापासी हाइटस्थित मन्दिर नजिक हिँडिरहेकी ६६ वर्षीया महिलाको करिब एक तोलाको सुनको सिक्री मोटरसाइकलमा आएका दुई जनाले लछारपछार गरी लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा घटनास्थलबाट एक थान मोटरसाइकल, एक थान खुकुरी, विभिन्न नम्बर प्लेटका पाँच थान प्लेट तथा मोटरसाइकल चोरीमा प्रयोग हुने टी–लक र ‘मास्टर की’ लगायतका औजार बरामद गरेको छ ।

प्रहरीले उक्त समूहसँग सम्बन्धित थप व्यक्तिहरु तथा उनीहरुले विगतमा गरेका अन्य लुटपाटका घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?